किरणमान बज्राचार्य
कपिलवस्तु ।
बुद्धको बाल्यकालीन क्रिडास्थलका रूपमा चिनिएको ऐतिहासिक तिलौराकोटले नयाँ वर्ष २०८२ को पहिलो दिन अभूतपूर्व पर्यटक आगमन अनुभव गर्यो।
वैशाख १ गते मात्रै यहाँ ५ हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरेका छन्।
करिब एक दशकअघिको उत्खननपछि पुनः चर्चामा आएको तिलौराकोटलाई सरकारले तीन वर्षअघि नै युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरेको थियो।
लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका अनुसार त्यसयता यहाँ पर्यटकको चाप निरन्तर बढ्दो छ।
स्थानीय पथप्रदर्शक राजकुमार कहारका अनुसार यस वर्ष तिलौराकोटमा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि देखिएको छ। ‘‘नयाँ वर्षको अवसरमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाबाट मात्र हजारौँको संख्यामा मानिस आएका थिए,’’ उनले भने।
पछिल्ला चार वर्षयता नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र चाडपर्वका अवसरमा यहाँको पर्यटकीय चहलपहल उल्लेखनीय रहँदै आएको छ।
यस दिन तिलौराकोट पर्यटकहरूबाट दिनभर भरिएको थियो। परिवार, जोडी र समूहमा आएका आगन्तुकहरूले ऐतिहासिक स्थलको रमाइलो अनुभूति गरेका थिए।








