कपिलवस्तु ।
नव वर्ष २०८२ को अवसरमा प्रगतिशील लेखक संघ, नेपाल शाखा कपिलवस्तुले रचना वाचन कार्यक्रम सिद्धार्थ क्याम्पस वाणगंगाको सभाहलमा भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रम संघका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षता, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश सदस्य श्री सन्तोष घिमिरेको प्रमुख आतिथ्य, सिद्धार्थ क्याम्पस वाणगंगाका क्याम्पस प्रमुख श्री बेदराम अर्यालको विशिष्ट आतिथ्य र कपिलवस्तु शाखाका सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।

स्वागत मन्तव्य जिल्ला सदस्य कृष्ण पाण्डेले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सिद्धार्थ क्याम्पस, बाणगंगा बहुमुखी क्याम्पस, जनज्योति मावि मोतिपुरका विद्यार्थीहरू, स्रष्टाहरू तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले कविता, कथा, मुक्तक, गजल जस्ता विविध विधाका रचनामार्फत नववर्षको शुभकामना आदानप्रदान गरे। उक्त कार्यक्रममा सहभागी अधिकांश प्रगतिशील साहित्यकारहरूले सामाजिक परिवर्तन, समानता, न्याय र मानवताको पक्षमा उभिएर सशक्त रचना वाचन गरेका थिए।

प्रगतिशील लेखक संघ लामो समयदेखि नेपाली साहित्यमा सामाजिक चेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने र जनताको पक्षमा सशक्त अभिव्यक्ति दिने स्रष्टाहरूलाई एकजुट गर्ने संस्थाका रूपमा क्रियाशील रहँदै आएको छ।
संघले साहित्यलाई जनताको पक्षमा कलम चलाउने माध्यम बनाउँदै आएको छ, जसले समाज परिवर्तनको सशक्त प्रेरणा दिँदै आएको छ।








