लुम्बिनी, वैखरी अनलाईन ।
सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएर मृत्यु भएका ३ बालकको परिवारलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले प्रतिपरिवार १ लाख रुपैयाँ दिने भएको छ ।
मंगलबार बसेको बैठकले मृतकका परिवारलाई काजक्रिया एवम् अन्य कार्यका लागि प्रति परिवार एक लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले जानकारी दिईन् ।
नगरप्रमुख सजरुद्दिन मुसलमानले मंगलबार एक सुचना जारी गर्दै ३ बालकको असामयिक निधनले नगर स्तब्ध भएको बताउँदै यस दुःखद घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये ३ जनामध्ये एक जना बालकको शव सोही दिन र २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट निकालेको थियो ।
सोही ठाउँ बस्ने १३ बर्षीय उमेश यादव र १२ बर्षीय मुनु हरीजनको शव मंगलबार विहान फेला परेको हो भने १४ बर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो ।
उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।








