पानी पार्ने प्रणाली नभित्रिएकाले देशभर गर्मी बढ्न थालेको मौसमविद्ले बताएका छन्। अहिले नेपालको मौसमी प्रणालीमा पश्चिमी र स्थानीय वायुको आंशिक मात्रै प्रभाव छ।
बुधबार कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना पनि छ।
तर देशभरका तराईका भूभागमा भने गर्मी बढ्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। मंगलबार सुदूरपश्चिम प्रदेशका एक–दुई वटा केन्द्रमा अधिकतम ४० डिग्री तापक्रम मापन गरिएको उनले बताए।
‘देशभर तापक्रम बढिरहेको अवस्था छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा केन्द्रहरूमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि मापन भएको अवस्था छ,’ उनले भने, ‘त्यो सँगसँगै मधेस प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमको अधितकत तापक्रम ३८ डिग्री आसपास रहेको छ।’








