गृहपृष्ठ Featured …त्यसपछि भड्कियो शिक्षक आन्दोलन

…त्यसपछि भड्कियो शिक्षक आन्दोलन

आन्दोलनको २६औँ दिनमा आइपुग्दा शिक्षक र प्रहरीबीच बानेश्वरमा केही बेर झडप भयो । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि आन्दोलन एकाएक तनावग्रस्त बन्यो ।

सदा झैँ माइतीघरमा भेला भएर बानेश्वरतिर लागेका शिक्षकले आइतबार निषेधित क्षेत्र तोड्न खोजेका थिए । संसद भवनतर्फ अघि बढ्न खोज्दा सुरुमा केही बेर घम्साघम्सी भयो । प्रहरीले पछाडि हट्न र तोकिएको क्षेत्रभित्रै रहेर आन्दोलन गर्न भने । तर, शिक्षकहरूले मानेनन् ।

उल्टै शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ ‘गृहमन्त्री राजीनामा दे’लगायत नारा लगाउँदै अघि बढन् खोजे ।

प्रहरीले लगाएको बार नै भत्काउन खोजे । केही बेरको तानातानपछि त्यो पनि भत्काए । र, शिक्षकहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा हान्यो । पानीको फोहोरा हानेपछि आन्दोलन झन् भड्कियो । आक्रोशित शिक्षकहरूले सडकपेटीमा रहेका ढुंगा हान्न थाले । अनि प्रहरीले पनि लाठी चार्ज गर्न सुरु गर्‍यो ।

त्यसपछि केही बेर तनावग्रस्त बनेको बानेश्वर क्षेत्र केही बेरको हानाहानपछि सम्हालियो । शिक्षकहरू अल्फाबिटाअगाडि पुरानै शैलीमा गाडीकै मञ्चबाट नाराबाजी गर्न थाले ।

तर, तनाव सम्हालिए पनि आन्दोलन यसअघिजस्तो रमझमयुक्त भने देखिएन । कतिपय शिक्षक आक्रोशित देखिन्थे भने केही शिक्षक डर र त्रासका कारण सडकपेटीतिर छेउ लागेर छलिर बसेका थिए ।

आन्दोलन सम्हालिएको निकैबेरसम्म पनि शिक्षक महासंघसँग घाइतेको हिसाब थिएन । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली मञ्चमै बसेर घाइते शिक्षकको विवरण संकलन गर्न थालिन् । आन्दोलन सकिँदासम्म नाम संकलनको क्रम जारी थियो ।

सम्बन्धित् समाचार