गृहपृष्ठ कपिलवस्तु बिशेष विकासको मूलधारमा आउँदै कपिलवस्तुको महाराजगंज  

विकासको मूलधारमा आउँदै कपिलवस्तुको महाराजगंज  

सागर वि.क., वैखरी अनलाईन ।
केही बर्ष अघि कपिलवस्तुको महाराजगंज नगरपालिकाका गाउँका सडक हिउँद् याममा धुलाम्य त वर्षायाममा हिलाम्य हुन्थे । अहिले गाउँका सडक कालोपेत्र मात्रै भएका छैनन् फराकिला र व्यवस्थित छन् । जसले स्थानीयको दैनिकी नै परिवर्तन भएको छ । त्यति मात्रै होइन कुनै समयमा हिलाम्य र धुलाम्य हुने ती सडक अहिले तसारी साधानको आवतजावतले व्यस्त देखिन्छन् ।
गाउँ गाउँका बाटो पुगेपछि त्यही सडक भएर आवतजावत गर्ने किसान, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई निकै सहज भएको छ । विद्यालयका गाडीहरु समेत सञ्चालनमा सहज भएको छ ।
सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज भएको महाराजगंज नगरपालिका- ४ का ६५ वर्षिय मोहम्मद अलीले बताउनुभयो । महाराजगंज नगरपालिका- १ का वेजेश यादवले स्थानीय सरकारको पहल र सक्रियतामा गाउँका बाटाहरु विस्तार हुदैं गएको कालोपत्रे भएको बताउनुभयो ।
महाराजगंज नगरपालिका- ६ का सलमान खानले पहिलेको जस्तो हिलो र धुलो खुट्टा घरमा लिन जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । वर्षाको समयमा हिलो अनि गर्मी समयमा धुलोले हैरान हुने बाटा कालोपत्रे भएपछि आफुहरुले बर्षौदेखि भोग्दै आएको  समस्या हटेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम मुसलमानले सडक पूर्वाधारसंगै नगरले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले विगतका बर्षहरुदेखि नै गाँउगाउँका सडक कालोपत्रेको कामलाई प्राथमिकता दिएर बजेट, कार्यक्रम तयार पार्दै आएको बताउनुभयो । हालै मात्र गनवरियादेखि शान्तिनगरसम्मको सडक कालोपत्रेको काम तीब्र गतिमा भईरहेको उहाँले बताउनुभयो ।
उहाँले गाउँ गाउँका सडक कालोपत्रे र सडक स्तरोन्नति भएसँगै मुख्यतः किसानहरूले उत्पादन गरेका कृषिजन्य सामग्री बजारीकरणमा समेत सहज भएको बताउनुभयो । उहाँले महाराजगंजलाई विकासको मूलधारमा ल्याउने गरि दिर्घकालीन योजनाहरुमा काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मीले कामको गुणस्तरियतालाई नगरले विशेष प्राथमिकतामा राखेको बताउनुभयो । योजनाको अनुगमन गरि कामको गुणस्तरियताको कापन गरेर मात्र रकम भुक्तानी प्रक्रिया अघि बढाउँदै आएको उहाँको भनाई छ ।
महाराजगंजमा संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारले सडक कालोपत्रेलाई प्राथमिकतामा राखी प्रत्येक वर्ष बजेट, कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् ।

सम्बन्धित् समाचार