विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुले ६ जना संचारकर्मीलाई सम्मान गरेको छ । जिल्लाको गोरुसिंगेमा जिल्ला शाखा कपिलवस्तुले आयोजना गरेको संचार श्रमिक सम्मान कार्यक्रममा जिल्लाका ६ जना संचारकर्मीलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा राम बहादुर गन्धर्व, कृष्ण यादव, कृष्ण पौडेल, कृष्ण हरिजन, ज्ञान कुमारी रास्कोटी, केशव बेल्बासे रहेका छन् । उनिहरुलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डे, नेकपा (एमाले) केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने लगायत चौतारीका केन्द्रिय, प्रदेश तथा जिल्लाका अध्यक्ष एवम् पदाधिकारीहरुले सम्मान गरेका हुन् ।
सोहि कार्यक्रममा प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी नेपाल सदैव प्रतिवद्ध रहेको केन्द्रिय अध्यक्ष गणेश पाण्डेले बताएका छन् । अध्यक्ष पाण्डेले पत्रकारहरुको पेशागत सुरक्षा संगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने बताए । अध्यक्ष पाण्डेले नागरिकलाई सुशुचित गर्दै समाजलाई सकरात्मक दिशातर्फ लैजानका लागि पत्रकारले तथ्यगत विषय उठान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारहरुको हकहितका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सुचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारीता गर्न अनुरोध गरे ।
यसैगरी कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पत्रकार गणतन्त्रको गहना भएको बताउदै जहाँ लोकतन्त्र छ त्यहा प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । उहाँले देशको विकास र जनताको जिवनस्तर उकास्ने काम नेकपा (एमाले) ले मात्र गरेको दाबी गर्दै त्यहीकारण एमाले माथी घेराबन्दी भएको बताए ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।








