गृहपृष्ठ Featured इजरायली मन्त्रिपरिषद्बाट गाजामा सैन्य अभियान विस्तार योजना स्वीकृत, मानवीय सङ्कट थप चर्किने

इजरायली मन्त्रिपरिषद्बाट गाजामा सैन्य अभियान विस्तार योजना स्वीकृत, मानवीय सङ्कट थप चर्किने

इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको योजनाले गाजाको केही भूभागलाई नियन्त्रणमा लिने र त्यहाँका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद्ले सर्वसम्मतिमा यो योजना पारित गरेको हो ।

यस योजनाको उद्देश्य गाजामा रहेको प्यालेस्टाीनी विद्रोही समूह हमासलाई परास्त गर्नु र बन्धकहरूलाई मुक्त गराउनु हो । तर कतिपयले यो कदमले बन्धकहरूको ज्यानलाई अझ जोखिममा पार्ने बताएका छन् ।

यसका लागि इजरायली सेनाले हजारौं सञ्चित सैनिकहरूलाई पुनः बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ र विभिन्न सहायता संस्थाहरूले गाजामा गम्भीर मानवीय सङ्कटबारे निरन्तर चेतावनी दिँदै आएका बेला इजरायलको यो निर्णय आएको हो । अधिकारीहरुले अब मानवीय सङ्कट थप चर्किने चिन्ता व्यक्त गरिरहेका छन् । गाजामा दुई महिनादेखि जारी पूर्ण नाकाबन्दीका कारण पुनः भोकमरीको सम्भावना देखिएको छ ।

गएको मार्च ५ देखि इजरायली सेनाले गाजामा पुनः ठूलो कारबाही शुरू गरेको हो । त्यसयता इजरायली आक्रमणमा कम्तीमा दुई हजार चार सय ३६ जनाको ज्यान गएको गाजामा सञ्चालित स्वास्थ्य निकायले जनाएको छ ।

सम्बन्धित् समाचार