पश्चिम नवलपरासी ।
लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ ।
स्थानीयद्वारा प्राचीन ककरपत्त नगर परिसरको सरसफाइ गरि आज बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले ककरपत्त नगरलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेर यसको संरक्षण र प्रवर्धनकाे योजना अघि बढाएको छ । ककरपत्त नगर नेपालका पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका अन्तर्गत पर्छ । यो स्थान लुम्बिनी प्रदेशमा पर्दछ, जुन भगवान् बुद्धको सम्बन्धी भूमि क्षेत्रका रूपमा प्रसिद्ध छ ।
सप्ताहव्यापी कार्यक्रम अनुसार वैशाख २६ गते देखी विभिन्न अन्तरक्रिया कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भव्य रुपमा मनाउनुका साथै सरावलमा रहेको प्राचीन सज्जनेल नगर, कुण्डिय नगर र सायुगा नगर सहितको बौद्ध स्थलको परिचय सहितको पुस्तक समेत लोकार्पण गरिने छ ।
प्राचीन कोलीय गणराज्य अन्तरगतको प्राचीन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चासो बढ्दै गएको देखिन्छ । कोलवृक्ष बगैँचा रहेको उक्त स्थान केही वर्ष अगाडि मात्रै सो स्थान प्राचीन बौद्धकालीन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा गरिएको थियो । यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भइरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
यो ककरपत्त नगर पनि बौद्धकालीन एक अति महत्वपूर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफैँ आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह सुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपूर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो ।








