भारतको ‘अपरेसन सिन्दुर’पछि भारत–पाकिस्तानको तनाव युद्धमा परिणत हुने खतरा बढेको छ । भारतले पाकिस्तानी भूमिमा हवाई हमला गरेपछि सुरु भएको दुई देशबीचको तनाव बिहीबारसम्म युद्धको स्तरमा पुगेको छ ।
पाकिस्तानी भूमिमाथि हमला गरेको भोलिपल्टै भारतले पाकिस्तानका दर्जनभन्दा बढी स्थानमा ड्रोन हमला गरेको छ भने पाकिस्तानले पनि भारतका दुई दर्जनभन्दा बढी ड्रोन खसालिदिएको छ । भारतको आक्रमणमा पाकिस्तानका केही एयर डिफेन्स सिस्टमसमेत ध्वस्त भएको बताइएको छ ।
भारतले पाकिस्तानको एयर डिफेन्स सिस्टममाथि नै हमला गरेपछि युद्धको खतरा बढेको हो । मंगलबार रातिको हमलासँगै भारत र पाकिस्तानका सीमा क्षेत्रमा बुधबार र बिहीबारसम्म पनि आक्रमण भएका छन् । बुधबारराति केही स्थानमा विस्फोटका ठूला आवाजहरू आएका थिए । पाकिस्तानी सेनाले १५ वटा भारतीय सैन्य अड्डामा हमला गर्ने कोसिस गरेको भारतको आरोप छ । उसले पाकिस्तानी पक्षबाट हमलाको कोसिस भएपछि जवाफी कारबाही गरेको दाबी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाट रातभर हमलाको कोसिस भएको बताएको छ ।
पाकिस्तानले उत्तरी र पश्चिमी भारतका शहरलाई निसाना बनाउने कोसिस गरेको भारतको रक्षा मन्त्रालयले बताएको छ, जसमा अवन्तिपोरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, चन्डिगढसहितका स्थानमा पाकिस्तानले मिसाइल प्रहार गरेको बताइएको छ । भारतीय सेनाले सीमा क्षेत्रमा एस–४०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको छ । मिसाइल हमलापछि एयर डिफेन्स सिस्टम सक्रिय पारेको बताएको छ । यो घटनालगत्तै पाकिस्तानका लाहौर, सियालकोट, कराचीमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त पारेको भारतीय पक्षको दाबी छ ।
भारतले पाकिस्तानभित्रै सैन्य संरचनामा हमला गरेपछि पाकिस्तानी सेनाले पनि काश्मिरस्थित नियन्त्रण रेखामा गोलाबारी गरेको थियो । यो घटनामा केही भारतीय सैनिक मारिएको बताइएको छ । पाकिस्तानले कुपवाडा, बारामुला, उरी, पुँछ, मेंढर र राजौरी क्षेत्रमा गोलीबारी गरिरहेको छ ।
यस्तै, पाकिस्तानमाथि हमलामा प्रयोग भएका २५ भन्दा बढी भारतीय ड्रोन पाकिस्तानी सेनाले खसालेको छ । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद चौधरीले पाकिस्तानका प्रमुख सैन्य अड्डा भएका क्षेत्रमा भारतले इजरायली ड्रोनको प्रयोग गरेर हमला गरेको जानकारी दिएका छन् । उनले ९ स्थानमा २५ भन्दा बढी ड्रोन खसालेको बताएका छन् । भारतीय हमलामा पाकिस्तानका लाहौर, कराँची र रावलपिण्डीमा रहेका तीनवटा एजक्यु–९ एयर डिफेन्स सिस्टम क्षतिग्रस्त बनेको भारतीय सेनाले दाबी गरेको छ । भारतको आक्रमणमा केही पाकिस्तानी सैनिकसमेत घाइते भएका छन् ।
भारत र पाकिस्तानबीच युद्ध चर्किने संकेतसँगै अमेरिकाले लाहौरस्थित वाणिज्य दूतावासका कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयले ड्रोन विस्फोट र सम्भावित हवाई हमलाको खतराबीच कर्मचारीलाई सुरक्षित स्थानमा शरण लिन जान सल्लाह दिएको हो । भारतले चीनमा निर्मित हतियार र लडाकू विमानबाट पाकिस्तानले भारतमाथि हमला गरेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले भने यसबारे कुनै जानकारी नभएको बताएको छ । मंगलबार राति भारतले हमला गरेपछि चिनियाँ लडाकू विमान प्रयोग गरेर भारतीय लडाकू विमान खसालेको पाकिस्तानले दाबी गरेको छ ।
सीएनएनका अनुसार बुधबारराति भारत र पाकिस्तानबीच करिब १२५ लडाकू विमानमार्फत एक घन्टासम्म युद्ध चलेको थियो । यद्यपि यो क्रममा दुवै देशका लडाकू विमान आफ्नो हवाई र जमिनको सीमाबाहिर गएका थिएनन् । पाकिस्तानको जियो न्युजका अनुसार नियन्त्रण रेखानजिकै पाकिस्तानको सिन्ध क्षेत्रको खेन्जुमा ड्रोन खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने व्यक्ति घाइते भएका व्यक्तिका छोरा भएको जियो न्युजले जनाएको छ ।
पाकिस्तानमाथि अपरेसन सिन्दुर नाम दिएर भारतले हमला गरेपछि बिहीबार सर्वदलीय बैठक बसेको थियो । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको बैठकपछि केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजुले पाकिस्तानमाथिको कारबाही निरन्तर जारी रहेको बताएका छन् । उनको यो भनाइबाट पनि भारत र पाकिस्तानबीच युद्ध चर्किने खतरातर्फ संकेत गर्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा उच्च अधिकारीहरूसँग बैठक गर्दै सैन्य अपरेसनको विस्तारपूर्वक रिभ्यु गर्न आदेश दिँदै अत्यावश्यक प्रणाली हर समय तयार राख्न, आपत्कालीन उद्धार र आन्तरिक सूचना प्रणालीलाई चुस्त बनाउन निर्देशन दिएका छन् । मोदीसँगको छलफलमा क्याबिनेट सचिव, प्रधानमन्त्री कार्यालयको वरिष्ठ अधिकारीहरू, रक्षा, गृह, विदेश, सूचना तथा प्रशारण, ऊर्जा, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सामेल थिए ।
विदेशमन्त्री एस जयशंकरले पनि भारतविरुद्ध पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अरागचीसँगको बैठकका क्रममा जयशंकरले २२ अप्रिलको हमलाले सीमापार आक्रमणका लागि बाध्य पारेको दाबी गरेका छन् ।