नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमस्थित बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्व्यंसेविकालाई २ लाख ५० हजार नगद प्रोत्साहन तथा १५ हजार मूल्य बराबरको मोबाइल फोन दिने घोषणा गरेको छ ।
बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका सुनिश्चित्ता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले सो घोषणासहित प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पालिकाले यसअघि दिंदैआएको २ लाख प्रोत्साहन रकममा ५० हजार थप गरी अबको आर्थिक वर्षदेखि २ लाख ५० हजार र एक– एक थान मोबाइल उपलब्ध गराउन लागेको छ ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य सेवा नागरिकको घरदैलोमा पुगाउन स्वयंसेविकाले रातदिन नभनी खटेर जुन योगदान दिनुभएको छ, त्यसको सम्मानस्वरुप यो निर्णय लिएको छु ।”
कार्यक्रममा सहभागी स्वयंसेविकाले नगरप्रमुखको यो उद्घोषले निश्वार्थ सेवाभावमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मुल्याङ्कन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
यस्तो प्रोत्साहनले आफुहरुमा अझ जिम्मेवार र उर्जाशील भएर समाज सेवामा लाग्न थप हौसला मिलेको समेत बताएका छन् । हाल बर्दघाट नगर क्षेत्रभित्र ४४ जना कार्यरत रहेका छन् ।








