गुल्मी ।
गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक ‘प्रथम रुरु क्षेत्र शालिग्राम महोत्सव २०८२’ सुरु भएको छ। शुक्रबार सुरु भएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन्।
महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको बताउँदै ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवहरूबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे।
महोत्सवको आयोजना पर्यटन डिभिजन कार्यालय रुपन्देही, तानसेन नगरपालिका, रुरु क्षेत्र गाउँपालिका तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त सहकार्यमा गरिएको हो।
नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन्।
धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण रुरु क्षेत्रको कालीगण्डकी नदी किनारमा पाइने शालिग्राम हिन्दू धर्मअनुसार अत्यन्तै पूजनीय मानिन्छ।
यही धार्मिक महत्त्वलाई उजागर गर्न र रुरु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न महोत्सवले सहयोग पुर्याउने विश्वास लिइएको छ। शालिग्राम महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ।








