गृहपृष्ठ Featured अझै भएन पूरा लुम्बिनी गुरुयोजना

अझै भएन पूरा लुम्बिनी गुरुयोजना

प्रकाशित मिति:

बुटवल ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा शुरु भएको लुम्बिनी विकास गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन ।

बारम्बार सरकार फेरबदलको असर, बजेट अभाव लगायतका कारणले गुरुयोजनाका काम पूरा हुन नसकेको लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् ।

पछिल्लो ६ वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ५ प्रतिशत मात्र बढेको छ । करिब ३० प्रतिशत काम बाँकी रहँदा पुरानो गुरुयोजना साँघुरो र समयसापेक्ष नभएको तर्क सहित नयाँ गुरुयोजना बनाउनुपर्ने माग अघि सारिएको छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनी भ्रमणका क्रममा लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाई विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए ।

संयुक्त राष्ट्रसंघको पहलमा २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाएका थिए । गुरुयोजनाका काम १७ वर्षमा अर्थात सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने उल्लेख थियो ।

गुरुयोजनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पूरातात्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिघा (तीन वर्ग माइल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एक/एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनीग्राम भनियो । बीचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाक्षेत्र भनी नामकरण गरियो र दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

सम्बन्धित् समाचार