कपिलवस्तु ।
नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सौर्य आयोजनाबाट उज्यालो नेपाल सम्भव भएको बताउनु भएको छ । राज्यमन्त्री विकले सौर्य विधुत योजनाले कपिलवस्तुको दिगो विकास र उज्यालो नेपाल निर्माणमा उल्लेखनीय टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८ मा निर्माण हुन लागेको ३० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विकले भन्नुभयो, ‘यस क्षेत्रमा यति ठूलो विद्युत आयोजना आउनु आफैँमा गौरवको विषय हो ।’
मन्त्री विकले सौर्य विद्युत योजनाले स्थानीय विकास, रोजगारी, पूर्वाधार तथा ऊर्जा सुरक्षाका हिसाबले यो परियोजना ऐतिहासिक सहयोग हुने बताउनु भयो । विद्युत योजनाले यस क्षेत्रका दलित, मधेसी, मुस्लिम समुदायलाई समेत समेट्ने मन्त्री विकले धारण राख्नुभयो ।
प्राइम पावर कम्पनी लिमिटेड काठमाडौंको लगानीमा योजना निर्माण हुने कम्पनीका अध्यक्ष आशीष गर्गले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना १८ महिनाभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।








