पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। पुम्दिस्थित विश्वशान्ति स्तूपको पार्किङस्थलको केही माथि सडकमा ग १ ख ३८८६ नम्बरको बस पल्टिएको हो।
घाइते २८ जनामध्ये दुईजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय मेलाराम साहु गम्भीर घाइते भएका हुन्।
उनीहरुसहित अन्य चारजनाको उपचार भइरहेको छ भने बाँकी २२ जनालाई सामान्य उपचारपछि होटलमा पठाउने तयारी भइरहेको छ। कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियासहितको टोली उनीहरुको उपचार भइरहेको अस्पताल पुगी सामान्य अवस्थामा रहेकाहरुलाई होटलमा पठाउने तयारी गरेको हो।
बसमा सवार सबैजना भारतीय पर्यटक हुन्। भारतीय पर्यटकले रिजर्भ गरेर लगेको सो बस पुम्दीकोटस्थित महादेवको मूर्ती दर्शन गरी फर्कँदै थियो। भारतको छत्तिसगढबाट मंगलबार राति उनीहरुसँगै ४९ जना पोखरा आएका थिए। बुधबार बिहान उनीहरु दुई वटा बस रिजर्भ गरि घुम्न निस्केको थिए।
दुर्घटनास्थल हेर्दा घुम्तीमा बस मोड्ने क्रममा ब्रेकले काम नगर्दा अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।