रुपन्देही ।
स्वास्थ्यका कारण विद्यालय छाड्ने र विद्यालय पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउने लक्ष्यसहित लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रम लागू भएको छ ।
पहिलो चरणमा बाँकेका १२ र रोल्पा ८ गरी २० विद्यालयमा एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम कार्यान्वयनमा आएको हो ।
विद्यालय तहबाट स्वास्थ्य सम्वन्धि प्रवर्धनात्मक, प्रतिरोधात्मक, उपचारात्मक र पोषण सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिने, विद्यालय बाहिर रहेका बालबालिका र विद्यालय छाड्ने दर घटाउन पनि यो कार्यक्रमले सघाउ पुर्याउने शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायणप्रसाद पोख्रेलले बताए ।
‘विद्यालय बाहिर पनि विद्यार्थी रहेको अवस्था छ । उनिहरु स्वास्थ्यकै कारण विद्यालय जान नसकेको अवस्था रहेछ भने उनीहरुलाई विद्यालयमा पुर्याउने अनि ड्रप आउट(बीचमै कक्षा छाड्ने) प्रवृत्तिलाई रोक्ने संकल्प छ’उनले भने,‘यी सबैको पछाडिको मुख्य कुरा भनेको शैक्षिक गुणस्तर बढाउने नै हो ।’ हाल प्रदेशभर चार हजार पाँच सय ३१ सामुदायिक विद्यालय रहेका छन् । सरकारले आगामी दिनमा क्रमशः अन्य विद्यालयमा समेत कार्यक्रम विस्तार गर्दै लैजाने तयारी गरेको छ ।
सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ नीतिअनुसार स्वास्थ्यकर्मीहरूको परिचालन गरेको हो । नयाँ जिम्मेवारी पाएका स्वास्थ्यकर्मीहरू विद्यालयतर्फ जान उत्साहित देखिएका दावी मन्त्रालयको छ ।