कपिलवस्तु ।
सिद्धार्थ क्याम्पस बाणगंगामा जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धी एकदिने सेमिनार सम्पन्न भएको छ । क्याम्पसमा रहेको अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहायक क्यम्पसका गोविन्द प्रसाद खनाल र प्राध्यापक रोमकान्त घिमिरेले जलवायु परिवर्तन र यसको असर न्यूनीकरण विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत भएका कार्यपत्रहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न संकट, त्यसको सामाजिक तथा प्राकृतिक प्रभाव, र स्थानीय तहमा लागू गर्न सकिने रणनीतिहरूलाई लगायतका पक्षहरुलाई समेटिएको थियो।
प्रस्तुत कार्यपत्र माथि सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव दुर्गा अर्याल, रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनकी उपाध्यक्ष इन्दिरा तिमिल्सिना, प्रध्यापकहरु राजकुमार अर्याल, प्रभात विक्रम क्षेत्री, कुलराज भुसाल, स्व्वियु सचिव अर्चना आचार्य लगायतले आ–आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तन मानव अस्तित्वसँग गाँसिएको जल्दोबल्दो विश्वव्यापी समस्या भएको औंल्याउदै यसको समाधानका लागि विश्व समुदाय नै सचेत हुन आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख अर्यालले जलवायु परिवर्तन र यसका असर न्यूनीकरण गर्ने उपाय सम्बन्धी विषयवस्तुहरु विद्यायलय शिक्षादेखि विश्वविद्यालय शिक्षामा समेटिनु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख वेदराम अर्यालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नको लागि वातावरणीय शिक्षा र सचेतनाकोे आवश्यकता रहेको जिकीर गर्दै उहाँले क्याम्पसले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तर रुपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीय वासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण प्राध्यापक प्रभात विक्रम क्षेत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजकुमार अर्यालले दिनुभएको थियो ।