कुलराज भुसाल
कपिलवस्तु ।
३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा कपिलवस्तुको बाणगंगामा ‘वृहत विचार गोष्ठी’ सम्पन्न भएको छ । विचार गोष्ठी नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजना तथा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको समन्वयमा शनिबार सिद्धार्थ क्याम्पस बाणगंगाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेताहरू, बुद्धिजीवी, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य बालाराम ज्ञवाली, जिल्ला उपाध्यक्ष राजकुमार अर्याल र सिद्धार्थ क्याम्पसका प्राध्यापक रोमकान्त घिमिरेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमा मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक योगदानबारे चार्चा गरिएको थियो ।
कार्यपत्रमा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तले नेपालको वामपन्थी आन्दोलनमा ल्याएको वैचारिक क्रान्ति, लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धता तथा आश्रितको संगठनात्मक नेतृत्वको विश्लेषण गरिएको थियो। कार्यपत्रमा मदन भण्डारीले नेपाली समाजमा राजनीतिक रूपान्तरणका लागि प्रदान गरेको वैचारिक सन्देशले बर्तमान राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको उल्लेख गरिएको थियो । त्यसैगरी, जीवराज आश्रितको संगठन निर्माण, जनसंपर्क विस्तार, र पार्टी अनुशासन सुदृढीकरणतर्फको योगदानको समेत विश्लेषण गरिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरीधारीलाल न्यौपानेले वर्तमान राजनीतिमा जबज सिद्धान्तको सान्दर्भिकता अझ बढ्दै गएको उल्लेख गर्दै विचार, सङ्गठन र जनसम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो।
त्यसैगरी, नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्यहरू डम्मर शर्मा, खुमप्रसाद आचार्य, धर्मराज भुसाल, शारदा शर्मा, लङ्कबहादुर हमाल, कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनाल , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष विष्णु भण्डारी लगायत नेताहरूले धारणा राख्दैै मदन–आश्रितले देखाएको मार्गलाई आजको पुस्ताले निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका वक्ताहरूले वर्तमानमा देखिएको वैचारिक विचलन, राजनीतिक अवसरवाद, र संगठनको अस्तव्यस्तता सुधार्न मदन–आश्रितको विचार अनुसरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागी नेताहरुले यस्ता वैचारिक कार्यक्रमले राजनीतिक चेतना विस्तारका साथै संगठनात्मक सुदृढीकरणमा समेत योगदान पु¥याउने विश्वास व्यक्त ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी, पालिका कमिटी, जनवर्गीय संगठन, युवा सङ्गठन, अनेरास्ववियु, प्राध्यापक, शिक्षक, विद्यार्थी तथा बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम बुद्धिजीवी परिषद् कपिलवस्तुका अध्यक्ष डी.बी. रेश्मीको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजकुमार अर्यालको स्वागत मन्तव्य र सचिव जीवनाथ मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।