कपिलवस्तु ।
कपिलबस्तुको निग्लिहवामा पोखरीबाट माटो निकाल्ने क्रममा अर्घसहितको मध्यकालिन शिवलिङ्ग फेला परेको छ । कपिलबस्तु नगरपालिका वडा नं. ९ स्थित निग्लिहवा गाँउको उत्तरतर्फ रहेको एक पुरानो पोखरीबाट माटो निकाल्ने क्रममा ऐतिहासिक र धार्मिक महत्व बोकेको उक्त शिवलिङ्ग फेला परेको हो ।
स्थानीयहरुले प्राचीन पुरातात्विक महत्त्वको शिवलिंगलाई सुरक्षाको प्रयाप्त व्यवस्था गरी नियमित पूजापाठको लागि पुरातत्व विभागले स्थानीय समुदाय र संरक्षणका लागि प्रहरी प्रशासनलाई जिम्मा दिनुपर्ने माग गरेका छन्। प्राचीन शिवलिङ्गको मन्दिर निर्माण गरी शिवलिङ्गको प्राण प्रतिष्ठा गर्नुपर्ने उनीहरुको माग छ । शिवलिङ्ग भेटिएपछि स्थानीयवासीहरू उत्साहित भएका छन् र यसलाई महत्त्वपूर्ण धार्मिक सम्पदाको रूपमा लिएका छन्।
उनीहरूले यसको उचित संरक्षण गर्नुपर्ने र नियमित रूपमा पूजापाठको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्। एक स्थानीय वासीले भने यो हाम्रो लागि ठूलो खुसीको कुरा हो। यस्तो पुरानो र महत्त्वपूर्ण शिवलिङ्ग भेटिनुले हाम्रो क्षेत्रको ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको छ। हामी चाहन्छौं कि पुरातत्व विभागले यसलाई संग्रहालयमा मात्र नराखेर यसको धार्मिक महत्त्वलाई बुझेर हामी स्थानीय र प्रशासनलाई नै जिम्मा देओस् ताकि हामी यसको नियमित सेवा र पूजापाठ गर्न सकौं।”
अध्यात्मिक र धार्मिक विधि पूर्वक प्राण प्रतिष्ठित गरी शिवलिङ्गको दैनिक पूजा पाठ गर्नु पर्ने अध्यात्मिक गुरुहरु बताउँछन् । यसले धार्मिक परम्परालाई जीवन्त राख्न मद्दत गर्ने उनीहरूको विश्वास छ। यस विषयमा पुरातत्व विभागको आधिकारिक धारणा आउन बाँकी छ। कपिलवस्तुमा फेला परेको यो मध्यकालीन शिवलिङ्गले स्थानीय स्तरमा उत्साह र चासो बढाएको छ ।