बुटवल ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४६ प्रतिशत खर्च गरेको छ । प्रदेशको चालु खर्चतर्फ ४८.११ प्रतिशत गरेको छ भने पुँजीगततर्फ ४५.५० प्रतिशत गरी कुल ४६.४६ प्रतिशत गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म १८ अर्ब १० करोड ५७ लाख रुपैयाँ खर्च भएको जनाएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा वैशाख मसान्तसम्म ११ अर्ब १८ करोड ५९ लाख खर्च भएको छ । चालुतर्फ १४अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्याङ्क हेर्दा यो आर्थिक वर्ष खर्चको प्रतिशतको आधारमा वृद्धि भएको देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को वैशाख मसान्तसम्म पुँजीगततर्फ ४०.२१ र चालु तर्फ ४०.२० गरी कुल बजेटको ४०.२३ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख दीपक ज्ञवालीले गत वर्षको वैशाख मसान्तसम्मको खर्चभन्दा अहिले ६ प्रतिशतले बढी भएको बताए । सरकारले काम गर्ने अझै केही महिना बाँकी रहेकाले त्यसमा पनि भर पर्नुपर्ने उनको भनाइ थियो ।