गृहपृष्ठ Featured जीर्ण बन्यो सेतीवेणीमा रहेको एसियाकै ठुलो शिला शालिग्राम

जीर्ण बन्यो सेतीवेणीमा रहेको एसियाकै ठुलो शिला शालिग्राम

प्रकाशित मिति:

तम्घास ।

गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेणीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण बनेको छ । जीर्ण रहेको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत यसको संरक्षणमा कसैले चासो दिएको छैन ।

स्थानीय व्यापारी प्रेम अर्यालले लुम्बिनी र गण्डकी प्रदेशको सङ्गमस्थलमा रहेको एसियाकै ठुलो शिला शालिग्राम यसरी जीर्ण अवस्थामा रहनु दुःखद भएको बताउनुभयो ।

कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको छ भने शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएको छ । स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी र गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख तथा अध्यक्षले संरक्षण गर्ने भन्दै आए पनि परिणाम भने देखिन सकेको छैन । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले तीन वटै जिल्लाका तीन स्थानीय तहले साझा धारणा बनाएर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

तीन वटै जिल्लाका स्थानीय तहको बैठक बसेर धर्म, संस्कृति र ऐतिहासिक क्षेत्रको संरक्षणका लागि लाग्नुपर्ने बताउँदै उहाँले शिला शालिग्रामको संरक्षणका लागि गाउँपालिका सदैव तयार रहेको बताउनुभयो ।

बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले पालिकाको बजेटले संरक्षण गर्न सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग संरक्षणका लागि पहल भइरहेको बताउनुभयो । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सानो रकमले संरक्षणको ठुलो काम गर्न सम्भव नहुने भएकाले प्रदेश र केन्द्रसँग समन्वय भइरहेको बताउनुभयो ।

केन्द्र र प्रदेश सभा सदस्यलाई शिला शालिग्रामको दर्शन गराएर संरक्षण गर्न बजेटको व्यवस्था गरिदिन आग्रह गरेको उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार