गृहपृष्ठ Featured कपिलवस्तुका ७ विद्यालयमा जंकफुड प्रतिबन्ध

कपिलवस्तुका ७ विद्यालयमा जंकफुड प्रतिबन्ध

प्रकाशित मिति:

कपिलवस्तुका ७ विद्यालयलाई जंकफुड ९पत्रु खाना० निषेध गरिएको छ । सरकारले दिवा खाजा कार्यक्रम संचालन गरे पनि पोषणको अवस्था सुधार नभएपछि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य कार्यालयको अगुवाईमा यो कार्यक्रम अघि सारेको हो ।

कपिलवस्तुका १० पालिकाका १० विद्यालयलाई चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै जंगफुड निषेध घोषणा गर्ने कार्यक्रम अनुसार सो कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालयका पोषण स्रोतव्यक्ति माहोम्द ईरफानले बताए । एक पालिकाका एक विद्यालयलाई जंकफुड निषेध घोषणा गर्ने कार्यक्रम छ । हालसम्म कपिलवस्तु नगरपालिकाको बुद्धपद्म उमावि, यशोधरा गाउँपालिकाको अनिरुद्ध मावि, बुद्धभूमि नगरपालिकाको गौतम बुद्ध उमावि, शिवराज नगरपालिकाको राष्ट्रिय मावि चन्द्रौटा, महाराजगंज नगरपालिकाको जानकी उमावि, विजयनगर गाउँपालिकाको द्रौपती मावि, कृष्णनगर नगरपालिकाको देवी विद्यापीठ माविलाई जंकफुड निषेध विद्यालय घोषणा गरिएको ईरफानले बताए ।

जंकफुड निषेध विद्यालय घोषणाको मापदण्ड अनुसार विद्यालय क्षेत्रको सय मिटर भित्र कुनै पनि जंकफुड, सुर्तीजन्य पदार्थ, मदिरा बिक्रीबितरण  सेवन र ल्याउन निषेधित गरिएको छ ।  निषेधित विद्यालयमा जंकफुड निषेधित गरिएको सुचना विद्यालय हाता भित्र साईन बोर्ड र भित्रमा लेख्नु पर्ने प्रावधान छ । यस्तै विद्यालय भित्र रहेको चमेना गृह समेत जंकफुड निषेधित रहेको सुनिश्चित गर्नु पर्छ ।

सरकारले कक्षा ५ सम्मका बिद्यार्थीका लागि प्रति व्यक्ति १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि दिवा खाजा कार्यक्रम संचालनका लागि विद्यालयमा रकम दिँदै आएको छ । तर कतिपय विद्यालयमा दिवा खाजा कार्यक्रम त्यति प्रभावकारी नदेखिएकाले प्रदेश सरकारले पोषणको अवस्था सुधार ल्याउन यो कार्यक्रम ल्याएको जिल्ला समवन्वय समितिका प्रमुख बावुराम आचार्यले बताए । जंकफुडलाई निरुत्साहित शिक्षक अभिभावहरुले समेत बिशेष ध्यान दिनु पर्ने बताए । ‘जंकफुड निषधित विद्यालय घोषणालाई ब्यवहारिकरुप मै कडाईकासाथ लैजानु पर्छ,’ उनले भने । आफुहरुले जिल्लाका बिभिन्न विद्यालयहरुमा दिवा खाजा कार्यक्रमको अनुमगन गर्दा शिवराज नगरपालिकाले दिवा खाजा कार्यक्रमको नाममा प्रति विद्यार्थी नगदै १५ रुपैयाँका दरले अभिभावकहरुलाई बुझाउँदै आएको पाइएको आचार्यले बताए ।

१५ रुपैयाँले खाजा खुवाउन नपुग्ने भन्दै शिवराज नगरपालिकाले अभिभावकहरुलाई नगद पैसा दिने गरेको हो । यसलाई सुधार गरी विद्यालयमा खाजा नै खुवाउने गरी अघि बढ्न शिवराज नगरपालिकालाई आग्रह गरेको आचार्यले बताए ।

जंकफुड निषेधित विद्यालयको मासिक अनुगमनकालागि सम्बन्धित पालिकाको उप प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । जुन समितिका पालिकोका शिक्षा शाखा प्रमुख र सम्बन्धित विद्यालयका प्रधानअध्यापक सदस्य तथा स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहेका छन् ।

गतवर्ष कपिलवस्तुका २५ विद्यालयमा छात्राहरुको रक्तअल्पता परीक्षण गर्दा ८३ प्रतिशतमा समस्या देखिएको स्वास्थ्य कार्यालयका श्रीधर खनालले बताए । कपिलवस्तुमा रक्तअल्पताको समस्या गम्भीररुपमा देखापरको उनले बताए । कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले जंकफुडले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा धेरै समस्याहरु देखा परेकोले विद्यालयमा जंकफुड निषेध अभियानकारुपमा लैजानु पर्ने बताए । उनले छात्राहरुमा रक्तअल्पताको समस्या देखिए पछि नगरभित्रका विद्यालयहरुमा आईरचन चक्की बितरण गरिएको बताए ।

घोषणा कार्यक्रममा बुद्धपद उमाविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहोम्मद आजाद दर्जीले आफनो विद्यालयमा अब जंकफुड पुर्णरुपमा निषेधित भएको बताए । यो अभियानलाई कडाईका साथ संचालन गरिने उनले बताए । बुद्धपदमा उमाविका प्रअ बावुराम भन्डारीले यो अभियानमा पालिका, प्रहरी र प्रशासन कार्यालयले समेत साथ दिनु पर्ने बताए ।

बुद्धपद उमाविमा सोमबार गरिएको घोषणा कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अशोक कुमार गुप्ता, नगरपालिका शिक्षा शाखा प्रमुख युवराज भुसाल लगायतको सहभागिता थियो ।

सम्बन्धित् समाचार