सागर वि.क./ वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.६ महुवामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाँप जाँच कार्य सुरु भएको छ ।
सोमबार बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रैष्ठ र भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले संयुक्त रुपमा उक्त कार्यको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
नगरप्रमुख केशवकुमार श्रेष्ठले गरवासीलाई लालपुर्जा वितरण गर्न नगर आतुर रहेको बताउनुभयो । उहाँले चुनावमा भूमिहिनको समस्या समाधान गर्ने र भूमिहिनलाई जग्गाको मालिक बनाउने भनेर गरेको प्रतिवद्धता अहिले पनि स्मरण रहेको बताउनुभयो ।
उहाँले सोही अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या सधैका लागि अन्त्य गर्न नगरले निरन्तर रुपमा कामहरु गरिरहेको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले जग्गा नाँपजाचका क्रममा विवाद भए नाँपजाचको काम नै रोकिने भन्दै कुनै पनि किसिमको विवाद नगर्न आग्रह समेत गर्नुभयो ।
भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले सरकार परिवर्तन भएपनि भूमि समस्या समाधान आयोगले आफ्नो काम निरन्तर रुपमा जारी राख्ने बताउनुभयो । उहाँले धेरै बोल्न भन्दा पनि आफुले भूमि सम्बन्धि ऐन नियमको परिधिभित्र रहेर काम गरेर देखाउने जिकिर गर्नुभयो ।
जनप्रतिनिधिले लालपुुर्जाको लागि सिफारीस नदिएमा आयोगलाई तत्काल सुचना दिन उहाँले अपिल समेत गर्नुभयो । राजनीतिक प्रतिशोध राखेर भोट नदिएकै कारण वास्तविक भूमिहिनलाई जग्गा प्राप्त गर्न बञ्चित गर्न नहुने उहाँको भनाई छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले वास्तविक रुपमा भूमिको समस्याबाट गुज्रिरहेका भूमिहिनलाई जग्गाको मालिक बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।