गृहपृष्ठ Featured विजयनगरवासीले गाउँमै पाए निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा

विजयनगरवासीले गाउँमै पाए निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा

प्रकाशित मिति:

कपिलवस्तु ।

गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर–६, बद्धौरमा रहेको विजयनगर आधारभूत अस्पातमा विशेषज्ञ स्वास्थ्य शिविरले उनीहरु उत्साहित भएको सेवाग्राही गुलाब थारुले बताए ।

उनले भने, “कपिलवस्तुको सुदुर पश्चिम पर्ने विजयनगरको आधारभूत अस्पताल नभएर समस्या थियो । बुटवल भैरहवा लगायत अन्यत्र जानु पर्ने बाध्यता थियो । तर, अब भने त्यो समस्या हटेको छ ।” स्थानीय स्तरमा स्वाथ्य सेवा पाउँदा समय र पैसा दुबै बचत भएको उनले बताए । स्वास्थ्य मात्रै नभएर अगामी दिनमा सरकारले अझै प्रभावकारी सेवा प्रदान गर्नेछ भनी थारुले विश्वास व्यक्त गरे ।

विजयनगर गाउँपालिकाको आयोजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयको सहयोगमा गाउँपालिकामा सोमबार विशेषज्ञ निःशुल्क स्वास्थ्य जाँच शिविर भयो । एक दिने स्वास्थ्य शिविरमार्फत ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमा पुरुष १ सय ६३ जना र महिला २ सय ६२ जनाले सेवा लिएका छन् ।

शिविरबाट दाँत तथा मुख रोग सेवा, जनरल फिजिसियन सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, छाला रोेग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जनाए ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालनले नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका लागि सहज भएको बताए । आधारभूत अस्पतालबाट विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि सञ्चालन भएको स्वास्थ्य शिविरले अधिकांश नागरिकहरु लाभान्वित भएको बताउँदै अस्पताल सञ्चालन हुनु नै गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

यसैबीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । अस्पताल सञ्चालनका लागि ठूलो चुनौती भए पनि आम नागरिकहरुलाई सहज र गुणस्तरीय सेवा प्रवाह गर्न पालिका प्रयासरत रहेको उनले जिकिर गरे ।

अस्पताल सञ्चालन भएपछि २ जना डाक्टरहरुले अहोरात्र सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित् समाचार