गुल्मी ।
ढोकाभित्र छिर्दा कानमा थरीथरी आवाज ठोक्किन्छ । कोही काठमा बुट्टा कोर्न व्यस्त छन् त कोही फर्निचर र मुढा बनाउन । तानमा कपडा र टोपी तथा स्वीटर बुन्ने पनि उत्तिकै छन् । व्यवस्थित उद्योग चलिरहेको जस्तो लाग्ने यो दृश्य हो, गुल्मी कारागारको ।
कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ५२ वर्षीय पुरुष आँखी झ्याल बनाउने मुख्य मिस्त्री हुन् । २६ वर्षदेखि काठलाई फूलबुट्टे आकार दिँदै आएका उनी २ वर्षदेखि गुल्मी कारागारमा छन् । उनले अन्य कैदीबन्दीलाई पनि सीप सिकाएका छन् । ‘बाहिर पनि यही काम गर्थें, यहाँ आफ्नो कामसँगै सीप हस्तान्तरण गरेको छु,’ उनले भने, ‘मासिक ४५ हजार आम्दानी गरिरहेको छु ।’
कैद भुक्तानपछि पनि यही पेसालाई निरन्तरता दिने उनले बताए । ४ जनाको परिवारलाई उनले कारागारबाटै खर्च पठाइरहेका छन् ।
५ वर्षदेखि यहाँ कैद भुक्तान गरिरहेका पाल्पाका ३० वर्षीय पुरुषले सुरुमा मुढा बुन्ने काम मात्रै गर्थे । २ वर्षदेखि उनले काठलाई नयाँ–नयाँ आकार दिइरहेका छन् । उनले यी सबै सीप कारागारमै आएर सिकेका हुन् । उनले बुबाआमा, २ दिदी, १ भाइ र १ छोरासहित ६ जनाको परिवारलाई घर खर्च पुर्याइरहेका छन् । ‘मासिक २५ हजार कमाइ गर्दै आएको छु,’ उनले भने, ‘कैद भुक्तानपछि यही पेसालाई व्यवसाय बनाउँछु ।’ उनीसँग अहिले मुढा बुन्ने, काठमा फूलबुट्टे आकार दिनेलगायत सीप छन् ।
गुल्मी कारागारमा अहिले १ सय ४ जना कैदीबन्दी छन् । जसमा १ आश्रित र १ अपांगता भएकाबाहेक अरूले केही न केही काम गरिरहेका छन् । उनीहरूले मासिक न्यूनतम १० हजारदेखि ४५ हजारसम्म कमाइ गर्दै आएका छन् । कारागारमा अहिले आँखी झ्याल, मूर्ति, चौकस, ढोका, मुढा, फ्रेम, सोफा, टेबल, भान्सा र कार्यालय प्रयोजनका सामग्री उत्पादन हुने गरेको छ ।
तानसम्बन्धीका सामग्री, टोपी र स्वीटरलगायतका सामग्री पनि उत्पादन भइरहेको कारागार प्रशासनले जनाएको छ । जसका लागि मासिक ७ सय क्युफिट सालको काठ र अन्य ३ हजार क्युफिट काठ कारागारमा खपत भइरहेको छ । जसबाट गत वर्ष ३ करोड रुपैयाँको कारोबार भएको गुल्मी कारागार प्रमुख रेश्मीराज पन्थीले बताए । यो वर्ष ६ करोडको कारोबार हुने अपेक्षा गरेको उनले बताए ।