अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार खरिदार पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीसहित तीन जनालाई पक्राउ गरिएको हो ।
पाण्डेले लेखापढी व्यवसायी शान्ति पुनमार्फत घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोली कोहलपुरस्थित मालपोत कार्यालय पुगेको थियो ।
नेपालगञ्जबाट गएको आयोग टोलीले कोहलपुर नगरपालिका-११ स्थित तिवारी रेस्टुरेन्टबाट पाण्डे, पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आयोगका प्रवक्ता पौडेलका अनुसार खरिदार पाण्डेले लेखापढी व्यवसायी पुनमार्फत सेवाग्राहीसँग उक्त रकम लिएर रेस्टुरेन्ट सञ्चालक तिवारीलाई राख्न दिएका थिए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।