रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८ औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।
‘१७ वर्षअघि नेपाली जनताले गरेको निरन्तर संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको सफलताको रूपमा हामीले यही दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौँ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यही दिनबाट सम्पूर्ण नेपाली नागरिक सार्वभौम बनेका छौँ ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानको भावना अनुसार प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउन योजनाबद्ध ढंगले कार्यहरू अगाडि बढाइरहेको जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले सेवा प्रवाहको सुधार, सुशासन प्रवर्द्धन, युवालाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रेरित गर्ने कार्यक्रम, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तारलगायतका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू अघि सारेको छ ।
उनले प्रदेश सरकार संघ र स्थानीय तहसँग सहकार्य गर्दै प्रदेशको क्षमता विस्तार, समृद्धि र सामाजिक न्याय कायम गर्न विशेष जोड दिइरहेको बताए ।
मुख्यमन्त्री आचार्यले गणतन्त्रले स्थापित गरेको राजनीतिक अधिकारलाई जनताको जीवनस्तरसँग प्रत्यक्ष जोड्नु साझा जिम्मेवारी भएको स्पष्ट पारे ।
उनले उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी सिर्जना र जनउत्तरदायी शासन प्रवर्द्धनमार्फत मात्रै गणतन्त्रको मर्मलाई साकार पार्न सकिने धारणा राखेका छन् ।








