कपिलवस्तु ।
ग्यालेक्सी युथ क्लबले कपिलवस्तुले आफ्नो सरसफाई अभियानलाई तीब्र पारेको छ । सोही क्रममा क्लबले शनिबार जिल्लाको सदरमुकाम तौलिहवाको बस पार्क क्षेत्रमा सरसफाई गरेको छ ।
क्लबले साताको एक पटक केहि घण्टा समाजलाई दिने प्रतिबद्धता अनुसार शनिबार पनि तौलिहवा बजार क्षेत्रमा सरसफाई गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार सफाईको क्रममा ३ क्विन्टल भन्दा बढी फोहोर व्यवस्थापन गरिएको छ ।
उहाँले बाणगंगा नगरपालिका मुख्य बजार क्षेत्रमा एक चरणको सरसफाई अभियान सम्पन्न गरेको बताउनुभयो ।
उहाँले पछिल्लो ३ महिनादेखि सरसफाई अभियानलाई निरन्तरता दिइरहेको र यसले समाज सकारात्मक सन्देह प्रवाह भएको बताउनुभयो । क्लबले यस बाहेक बालबालिकाको क्षेत्रमा समेत काम गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
स्थापनाको छोटो समयमा कपिलवस्तुमा सामाजिक कार्यका लागि पहिचान बनाएको यस ग्यालेक्सी युथ क्लबले सरसफाई अभियानसंगै अन्य सहयोगी अभियान गर्दै आएको छ ।
शनिबार भएको सरसफाई कार्यक्रममा क्लबका ३० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लबमा हाल १०१ सदस्य रहेको र सदस्यता बढ्ने क्रम जारी रहेको क्लवले जनाएको छ ।








