नवलपुर ।
गत जेठ ८ गते बिहीबार राति परेको पानीले पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक खण्डको एकैसाथ तीन ठाउँमा बाटो अवरुद्ध भयाे । चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोलामा गरी ३ ठाउँमा एक साथ सडक अवरुद्ध भयो।
बिहिबार रातिदेखि अवरुद्ध भएको सडक चोरमारा र दाउन्ने शुक्रबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आयो भने दुम्किबासको डाइभर्सन शनिबार निर्माण सकिएर आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आयो ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र वैशाख २९ गते होङ्सी सिमेन्टको १८ चक्के टेलर हिँड्दै गर्दा पुल भाँचिए । पुल भाँचिएपछि डाइभर्सनमार्फत् गाडी आवतजावत गराउने गरिए पनि खोलाले पटकपटक डाइभर्सन बगाएपछि यात्रा कष्टकर बन्दै गएको छ । तीन ठाउँमा सडक एकतर्फी भएपछि यात्रुले निक्कै सास्ती बेहोर्नुपर्याे ।
त्यसमाथि दाउन्नेको सडक सबैका लागि टाउको दुखाइको विषय भएको छ । पुल भाँचिएपछि बनाइएका अस्थायी डाइभर्सन र हल्का पानी पर्दा पनि चिप्लिने दाउन्नेको सडकले निर्धारित समयमा गन्तव्यमा पुग्न असम्भव जस्तै भएको छ ।
बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुले गुनासो गरेका छन् । शुक्रबार त्रिवेणीबाट नवलपुर सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउ र बर्दघाट फर्कन १२ घण्टासम्म समय लागेको बताउनुभयो ।
साढे ६ वर्षमा अलिकति राहात महसुस हुनेगरी काम भएपनि दाउन्नेको सडक नबन्दा यो वर्ष पनि यात्रु र चालकले सास्ती पाउने भएका छन् । डाउन्नेको सडक विस्तारका लागि भन्दै एक महिनासम्म राति पाँच घण्टा र ५ दिनसम्म दिउँसो पाँच घण्टा सवारी आवागमन रोकेर काम गरिए पनि सोचेअनुसार काम नसकिएपछि अव वर्षाअघि यो सडक नबन्ने भएको हो ।








