गृहपृष्ठ Featured ट्रम्पले भने,’मस्कसँगको सम्बन्ध सकियो’

ट्रम्पले भने,’मस्कसँगको सम्बन्ध सकियो’

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना भरपर्दा सहयोगी एलन मस्कसँगको सम्बन्ध समाप्त भएको बताएका छन्।

शनिबार एनबीसी न्युजसँगक एक अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको सम्बन्ध अन्तभएको बताए। उनलाई सोधियो कि मस्कसँगको घनिष्ट सम्बन्ध अब अन्त्य भएको हो त? जवाफमा उनले भने,’म त्यस्तै ठान्छु, हो।’ जब पत्रकारले सोधे,’के तपाईं त्यो सम्बन्ध सुधार्न चाहनुहुन्छ?’ ट्रम्पको जवाफ थियो ‘होइन्, चाहन्नँ’

पछिल्लो समय सामाजिक सञ्जालमार्फत दुईबीच वाकयुद्ध सुरु भएको छ। मनमुटाव यतिसम्म बढ्यो कि ट्रम्पले मस्कको आलोचना गर्दै ‘पागल’ भएको भन्दै टिप्पणीसमेत गरेका थिए। मस्कले भने ट्रम्पलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताएका थिए।

यो विवाद प्रविधि क्षेत्रका अर्बपति मस्कले ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयकको खुलेर आलोचना गरेपछि सुरु भएको हो। जुन राष्ट्रपति ट्रम्पको प्रमुख आन्तरिक नीतिका रुपमा रहेको मानिन्थ्यो। मस्कले निर्वाचनमा ट्रम्पलाई लाखौँ डलर दान गरेका थिए र उनी चुनावी सभाहरुमा खुलेर ट्रम्पको सपोर्टमा उभिएका थिए। ट्रम्प निर्वाचित भएसँगै उनी ह्वाइट हाउसका महत्त्वपूर्ण सल्लाहकारका रुपमा समेत रहे।

राष्ट्रपति ट्रम्पसँगको बढ्दो विवादबीच अधिकांश रिपब्लिकन नेताहरू ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जे.डी. भान्सले एलन मस्कको व्यवहारलाई ‘निकै चरम’ भन्दै अब उनी कहिल्यै पनि रिपब्लिकन वृत्तमा पुन:स्वागत पाउने अवस्थामा नपुग्ने बताएका थिए। भान्सले एक पडकास्टर भने, ‘राष्ट्रपतिमाथि आक्रमण गर्नु मस्कको ठूलो गल्ती थियो।’

केही सातादेखि मस्कले ट्रम्पको प्रमुख विधेयकका रुपमा रहेको ‘बिग ब्यूटिफुल बिल’माथि कडा आलोचना गर्दै आएका थिए, जुन अहिले कांग्रेसमा छलफलमा छ। मस्कका अनुसार,यो विधेयकले राष्ट्रिय घाटामा खरबौँ डलर थप्नेछ र उनले ‘डोज’ (डिपार्टमेन्ट अप गभर्मेन्ट अफ एफिसेन्सी) को प्रमुखका रूपमा खर्च कटौती गर्न गरेका प्रयासहरूलाई निरर्थक र कमजोर पार्ने छ।

डोजमा १२९ दिनको कार्यकालपछि बाहिरिएलगत्तै मस्कले आफ्नो प्लेटफर्म एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र निन्दनीय’ भनेका थिए। यद्यपि उनले ट्रम्पको नाम भने उल्लेख गरेका थिएनन्।

तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै मस्कको व्यवहारप्रति ‘निराशा’ व्यक्त गरे। त्यसपछि मस्कले एक्समा पोस्टहरूको वर्षा गर्दै ट्रम्पमाथि प्रत्यक्ष आक्रमण सुरु गरेका थिए। ट्रम्प आफू बिना चुनाव जित्न नसक्ने दाबी गर्दै उनले ट्रम्पलाई बदनाम फाइनान्सियर जेफ्री एपस्टिनको फाइलमा जोडिएको आरोप लगाए। यद्यपि उनले ती पोस्टहरू पछि हटाए, र एपस्टिनका वकिलले समेत ती आरोपहरू अस्वीकार गरिसकेका छन्।

यसपछि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसोलमा मस्क ‘पागल’ भएको प्रतिक्रिया दिए। एक पोस्टमा त उनले मस्कका संघीय सरकारसँग रहेका सबै ठेक्का नै रद्द गर्ने धम्कीसमेत दिएका थिए।

शनिबार एनबीसीसँग उनले मस्क ‘राष्ट्रपतिको पदप्रति अपमानजनक’ रुपमा प्रस्तुत भएको आरोप लगाए। उनले भने ‘मलाई लाग्छ यो निकै खराब कुरा हो, किनभने उनले राष्ट्रपति पदको अत्यन्तै बेइज्जती गरे। तपाईंले राष्ट्रपतिको पदको अपमान गर्न सक्नु हुँदैन।’

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्पको चुनाव अभियानमा करिब २५० मिलियन डलर सहयोग गरेका थिए। सामाजिक सञ्जालमा चलिरहेको विवादबीच मस्कले अबको वर्षको मिडटर्म निर्वाचनमा ट्रम्पका केही प्रतिस्पर्धी उम्मेदवारहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्। विशेष गरी ती सांसदहरूका विपक्षमा जसले ट्रम्पको कर विधेयकलाई समर्थन गरेका थिए।

जब पत्रकारहरूले ट्रम्पसँग मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गर्ने सम्भावनाबारे सोधे, उनले गम्भीर चेतावनी दिँदै भने ‘उनी गम्भीर परिणामको सामना गर्नेका लागि तयार हुनुपर्छ।’

सम्बन्धित् समाचार