गृहपृष्ठ Featured बुटवल–गोरुसिंगे सडकखण्डमा वर-पिपल र स्वामीका विरुवा रोप्ने तयारी

बुटवल–गोरुसिंगे सडकखण्डमा वर-पिपल र स्वामीका विरुवा रोप्ने तयारी

वैखरी अनलाईन, बाणगंगा ।

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नतिको काम समयमै सम्पन्न गर्नका लागि दबाब दिन गठित नागरिक निगरानी समूहले यस सडकखण्डमा वर-पिपल र स्वामीका विरुवा रोप्ने तयारी गरेको छ ।

सोमबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा बसेको समूहको बैठकले आगामी असार साउनमा वृक्षरोपण गर्ने निर्णय गरेको समूहका एक सदस्य डोलकराम घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार हालसम्म सडक स्तरोन्नतिको काम सन्तोषजनक रुपमा भएको बैठकले निष्कर्ष निकालेको छ ।

उहाँले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नतिको कामलाई आफुहरुले नजिकबाट निगरानी गरिरहने बताउँदै ठेकेदार पक्षलाई लापरबाही गर्न नदिन र समयमै सचेत गराउन निरन्तर खबरदारी गर्ने बताउनुभयो ।

समूहका अध्यक्ष छविलाल पाठकले बैठकमा सडक विस्तारको काम गत फागुनबाट निरन्तर रुपमा तीब्र गतिमा भएको विफ्रिङ गर्नुभएको थियो । सो क्रममा उहाँले अहिले पुलहरुको पिलर, कल्भर्ट र जंगल क्षेत्रमा काम भएको बताउँदै करिब १० प्रतिशत भन्दा बढी काम भईसकेको जानकारी दिनुभयो । उहाँले सडक विस्तारको क्रममा करिब २ सय भन्दा बढी बर, पिपल, र स्वामीका रुखहरु काटिएको बताउँदै भन्नुभयो, ‘हाम्रो निगरानी समूहले यसको क्षतिपूर्ति बापत १ सय ओटा बर, पिपल र स्वामीका विरुवाहरु असार साउनभित्रै रोप्ने व्यवस्था गर्नेछौं ।’

अध्यक्ष पाठकले यस समूहले सडक स्तरोन्नतिका कामको प्रभावकारितासंगै स्थानीय नागरिकहरुका सरोकारका विषयहरु उठान गर्ने बताउनुभयो । उहाँले बुटवल–नारायणघाट सडकखण्डमा जस्तो ढिलासुस्ती र बेतिथि हुन नदिन नागरिक निगरानी समूह गठन भएको स्मरण गराउनुभयो ।

वि.स.२०२० सालमा तत्कालीन राजा महेन्द्रको पालामा निर्माण गरिएको यो सडक ६० वर्षपछि स्तरोन्नति हुन लागेको हो । बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी ६९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति गरिदैं छ ।

पहिलो खण्ड अन्तर्गत निर्माण गरिने बुटवलदेखि गोरुसिंगे सम्मको ५० किलोमिटर सडकलाई पनि २५÷२५ किलोमिटरमा विभाजन गरी दुई प्याकेजमा निर्माण गर्ने तयारीसहित काम धमाधम भईरहेको छ । सडक स्तरोन्नतिको काम तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित् समाचार