वन तथा वातावरण राज्यमन्त्री रुपा विकले परम्परागत ज्ञान र स्थानीय नेतृत्वमा आधारित संरक्षण प्रणालीलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा आयोजित “समावेशी संरक्षण: नेपालको आदिवासी जनजातिहरूको योगदान, नेतृत्व र चुनौतीहरू बुझ्न” विषयक कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाले यस्तो धारणा राख्नु भएको हो ।
“नेपाल जैविक र सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यसमा सबैले गर्व गर्नुपर्छ । यो विविधता संरक्षण गर्न आदिवासी समुदायहरूको परम्परागत ज्ञान र योगदानलाई नबुझी कुनै पनि राष्ट्रिय रणनीति पूर्ण हुन सक्दैन,” राज्यमन्त्री विकले भन्नुभयो ।
उहाले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना अद्यावधिक गर्ने क्रममा आदिवासी, महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
“संरक्षण अधिकारमा आधारित हुनुपर्छ । जसले पूर्वसहमति, स्वतन्त्र र सूचित सहमतिको मापदण्ड पुरा गरोस्, ” राज्यमन्त्री विकले भन्नुभयो ।
कार्यशालामा विज्ञ, समुदाय प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । वक्ताहरुले स्थानीय तहमा सञ्चालन भइरहेका संरक्षण प्रयासहरूलाई नीति निर्माणमा समावेश गर्न सुझाव दिएका छन् ।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय केन्द्र र राष्ट्रिय आदिवासी महिला मञ्चको आयोजनामा सम्पन्न भएको हो ।