सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई साईकल वितरण गरेको छ । प्रशासनिक कार्यमा सहजता ल्याउने उद्देश्यसहित नगरपालिकाले सोमबार ११ ओेटा विद्यालयहरूलाई साइकल वितरण गरेको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा ३८ वटा विद्यालयमा साईकल वितरण गरिएको थियो भने चालु आर्थिक वर्षमा थप ११ वटा विद्यालयलाई साईकल वितरण गरिएको हो । उहाँले हालसम्म नगरभित्रका ४९ ओटा सामुदायिक विद्यालयहरुलाई साईकल प्रदान गरिएको जानकारी दिनुभयो ।
साईकल हस्तान्तरण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले विद्यालयका प्रशासनिकसंगै शैक्षिक गतिविधिलाई छिटोछरितो रुपमा सम्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘सबैसंग बाईक, स्कुटर हुन्छ भन्ने हुदैंन । विद्यालयबाट प्रशासनिक कामका लगि जुन बेला पनि अन्यत्र जानुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा साईकलको प्रयोग गर्दा समय र पैसाको बचतसंगै शारीरिक कसरत पनि हुन्छ,’ नगरप्रमुख अर्यालले भन्नुभयो ।
उहाँले साईकल अबदेखि विद्यालयको साँझा सम्पतिका रुपमा रहने भन्दै सुरक्षित साथ संरक्षण गरेर प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले बाणगंगाका सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा स्थापना गर्न नगरले स्रोत र साधनका हिसाबले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आगामी बर्षहरुमा पनि आवश्यकताका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले यस्ता कार्यक्रमले समग्र विद्यालय परिवारमा सकारात्मक उर्जा भर्ने काम गर्ने बताउनुभयो । जसले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने उहाँको विश्वास छ ।