रेसुङ्गा ।
गुल्मीको छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले विचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अमरपुर राङ्गदललाई जोड्न ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।
यो पुलको नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गर्नुभयो । पुलको उद्घाटन गर्दै विष्टले पहाडमा गाउँ–गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलमो महत्त्व अझै रहेको बताउनुभयो ।
क्षेत्र नं. २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएका विष्टले बताउनुभयो । उहाँले सडक, खानेपानी, पुल, सिँचाइ लगायतका पुर्वाधारमा थुप्रै बजेट विनियोजन गरेकाले क्रमिक रूपमा समृद्धिको यात्रा सुरु भएको बताउनुभयो ।
धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रूपमै विचित्र रहेको गुफा छ । यो पुलले मदनभण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सजिलो भएको छ । राजमार्गबाट ५ मिनेटमा पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सकिने भएको छ । पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीलाई समेत राहत महसुस भएको स्थानीय बोमलाल भण्डारीले बताउनुभयो ।
छल्दी खोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेहरूको घुइँचो लाग्ने गरेको छ ।