गृहपृष्ठ Featured कृषकहरुलाई श्रृङ्गीघाट सामुदायिक वनको १३६ वटा स्प्रे टयाङ्की

कृषकहरुलाई श्रृङ्गीघाट सामुदायिक वनको १३६ वटा स्प्रे टयाङ्की

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले कृषकहरुलाई स्प्रे टयाङ्की र सामुदायिक विद्यालयका निजि स्रोतका शिक्षकलाई तलब हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच वनले १४ मौजाका उपभोक्ताहरुलाई लक्षित गरि १३६ वटा स्प्रे ट्याङ्की वितरण गरेको गरेको वनकी सचिव सुष्मा खाँणले जानकारी दिनुभयो ।

उक्त स्प्रे ट्याङ्की मौजा संयोजकमार्फत कृषकहरुलाई दिईएको सचिव खाँणले स्पष्ट पार्नुभयो । यस्तै उहाँले वनको कार्य क्षेत्रभित्र रहेका ५ वटा सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका निजि स्रोतका शिक्षकहरुलाई १५ हजारका दरले वनले तलब हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उक्त तलब रकम विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । सचिव खाँणले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यी कार्यक्रमहरु गरिएको बताउनुभयो ।

वनका अध्यक्ष सुसिलसिंह ठकुरीले वन संरक्षण, सम्बद्र्धनसंगै श्रृङ्गीघाटले सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । नगरसंगको लागत साझेदारीमा वनले विकास निर्माणका गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यस क्षेत्रका कृषकलाई सिंचाई सुविधाको समस्या छ । सो समस्याको समाधान गर्ने प्रयास स्वरुप वनले कुलो निर्माणको काम पनि गरेको छ ।’

कृषकहरुलाई आफ्नो बालीहरुमा किटनाशक औषधी प्रयोग गरि उत्पादनमा वृद्धि गर्न मद्दत पुगोस् भन्ने उद्देश्यसहित कृषि औजारका रुपमा स्प्रे टयाङ्की उपलब्ध गराईएको उहाँले बताउनुभयो । उहाँले सामुदायिक विद्यालय सबैको साँझा सम्पत्ति भएको बताउनुभयो । वनको यस्तो प्रयासले समग्र विद्यालयलाई गुणस्तरिय शिक्षाको प्रत्याभूमि दिलाउने दिशातर्फ अघि बढ्न थप उत्प्रेरित गर्ने उहाँको विश्वास छ ।

वनले पनि सामाजिक रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण निर्वाह गर्न सक्छ भन्ने कुरा श्रृङ्गीघाट सामुदायिक वनले स्थापित गर्दै आएको अध्यक्ष ठकुरीले जिकिर गर्नुभयो ।

सवडिभिजन कार्यालय मोतिपुरका प्रमुख अजाज अहमद अन्सारीले सामुदायिक वनहरु नेपाललाई विश्वभर चिनाउने साँझा सम्पत्ति भएको बताउनुभयो । वन संरक्षणको क्षेत्रमा नेपालले गरेको प्रगति विश्वका अन्य देशले गर्न नसकेको उहाँको भनाई छ । शिक्षा र कृषि समग्र समाजको मेरुदण्ड भएको बताउदै उहाँले भन्नुभयो, ‘यी दुई क्षेत्रको समुचित विकास विना समाजले प्रगति गर्न सक्दैन् । नागरिकले खुशी र समृद्धि हासिल गर्न सक्दैनन् ।’

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले अब विद्यालयहरु सुचना प्रविधिमैत्री बन्ने दिशातर्फ अघि बढ्न आवश्यक रहेको बताउँदै भन्नुभयो, ‘संसार धेरै एडभान्स भईसकेको छ । अब पनि विद्यालयहरु सुचना प्रविधिमैत्री हुन सकेनन् भन्ने हाम्रा विधार्थीहरुले विश्वसंग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’

बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर केसीले परम्परागत कृषिलाई त्यागेर आधुनिक र व्यवसायिक कृषितर्फ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बाणगंगामा सिंचाईयुक्त भूमि न्युन मात्रामा रहेको बताउँदै सिंचाईको क्षेत्रमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभो ।
वनका सल्लाहकार विष्णु थापा, गजेहडा माविका प्रअ रामप्रसद भण्डारी लगायतका वक्ताहरुले श्रृङ्गीघाट सामुदायिक वनले योजनाबद्ध रुपमा उत्कृष्ट काम गर्दै कपिलवस्तुसहित लुम्बिनी प्रदेशमै नमुना सामुदायिक वनका रुपमा स्थापित हुदैं गएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित् समाचार