कपिलवस्तु ।
तौलिहवा बसपार्कमा १ सय १३ जना सवारी चालक र सहचालकहरुको निशुल्क आँखा परीक्षण गरिएको छ ।
दृष्टिदोषका कारण हुन सक्ने दुर्घटना न्युनिकरणका लागि कपिलवस्तु जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नका लागि तौलिहवा आँखा अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाको आयोजनामा निशुल्क आँखा परीक्षण शिविर गरिएको हो ।
शिविरमा चालक र सहचालक बाहेक यात्रुहरुले समेत आँखा परीक्षण गराएका थिए । तौलिहवा आँखा अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादवको नेतृत्वमा नेत्र सहायक सहित चार जनाको टोलीले १ सय १३ जनाको आँखा परीक्षणका क्रममा ६५ जनामा दृष्टिदोष र ४ जनामा मोतियाबिन्दुको संक्रमण फेला पारेको थियो । अधिकांशको आँखामा दृष्टिदोषको समस्या देखिएको बिशेषज्ञ यादवले जानकारी दिए ।
समस्या भेटिएका बिरामीलाई थप उपचारका लागि तौलिहवा आँखा अस्पतालमा आँखा उपचारका लागि प्रेषण गरिएको छ । आफुहरुलाई कार्यस्थलमै निशुल्क आँखा परिक्षण सेवा दिईएकोमा खुसी लागेको सवारी चालक धनश्याम कहाँरले बताए । आँखाको समस्याले हुने दुर्घटना रोक्न कार्यक्रमले भुमिका खेल्ने उनले बताए ।
दृष्टिदोष र मोतियाबिन्दुका कारण चालकले राम्ररी देख्न नसक्दा धेरै दुर्घटनाहरु निम्तिने गरेकाले सो समस्यालाई समाधान गर्न चालक र सहचालकका लागि निशुल्क आँखा परिक्षण कार्यक्रम आयोजनामा सहयोग गरिएको तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले बताए ।








