अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शक्तिसाली बंकर भेदी बमहरु खसाएसँगै अब शान्तिका लागि ढिला गर्नु नहुने बताएका छन्। ट्रम्पले इरानलाई चेतावनी दिँदै अब शान्तिका लागि ढिला गरेमा थप आक्रमण गर्ने चेतावनी दिएका हुन्।
नेपाली समय अनुसार आइतबार बिहान गरेको संक्षिप्त संवोधनमा उनले विश्वले गर्न नसक्ने काम आफ्नो सेनाले गरेको भन्दै बहादुरीपूर्ण कार्यका लागि सेनालाई धन्यवाद दिए। उनलले भने,’आज राति हामीले जे गर्यौं , त्यो संसारको कुनै पनि सेनाले गर्न सक्दैन।’
राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै यदि शान्ति चाँडै नआए, इरानले अझ गम्भीर ‘विपति’ भोग्नुपर्ने बताए। उनले भने, ‘यदि चाँडै शान्ति नआएमा, हामी ती अन्य लक्ष्यहरूतर्फ सटिकता, गति र दक्षताका साथ थप आक्रमणहरु गर्नेछौं।’
ट्रम्पले इरान केवल इजरायलका लागि मात्र नभएर अमेरिकाका लागि पनि खतरा रहेको जिकिर गरे। उनले ४० वर्षदेखि इरानले अमेरिका र इजरायललाई सखाप पार्ने नारा लगाइरहेको बताए। धेरैं महिनाको हिचकिचाहटपछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूसँग सहकार्यलाई खुलेर समर्थन गर्दै एकै टिम भएर काम गरेको बताए। ट्रम्पले भने, ‘मैले धेरैं पहिले नै निर्णय गरिसकेको थिएँ। म इरानलाई आणविक हतियार बनाउने अनुमति दिने छैन।’
उनले भने, ‘इरान, मध्यपूर्वको बलजफ्ती शक्ति हो, अब शान्ति स्वीकार गर्नुको विकल्प छैन।’ उनले थपे, ‘हाम्रो उद्देश्य इरानको यूरेनियम प्रशोधन क्षमता पूर्ण रूपमा ध्वस्त पार्नु र यो देशबाट आउने आणविक खतरा अन्त्य गर्नु थियो। जुन संसारकै सबैभन्दा ठूलो आतंक प्रायोजक राष्ट्र हो।’
ट्रम्पले उक्त आक्रमणलाई ‘अद्भुत सफलता’ को संज्ञा दिँदै इरानका आणविक साइटहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए।
ट्रम्प उक्त सम्बोधनका क्रममा उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथसँगै उभिएका थिए।








