वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउन चाहेको बताउनुभएको छ । विगतमा भन्दा अहिले तुलनात्मक रुपमा हिंसा र विभेद न्युन भएको बताउँदै उहाँले बाणगंगालाई हिंसा र विभेदमुक्त नगर बनाउने परिकल्पनासहित अघि बढेको बताउनुभयो । आईतबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजना र सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा भएको लैंगिक हिंसा विरुद्धको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
उक्त कार्यक्रममा एकल, दलित, महिला, जनजाती, यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो । अधिकांश विभेद, हिंसाहरु आर्थिक अवस्था कमजोर हुदाँ सिर्जना हुने भएको भन्दै उहाँले हरेक व्यक्ति पेसा व्यवसायमा जोडिन आवश्यक रहेको बताउनुभयो ।
अहिले पनि समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उहाँले यसमा सुधार हुन आवश्यक रहेको बताउनुभयो ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिलसिंह ठकुरीले समाजमा अहिले पनि विभिन्न हिंसा र विभेदका घटनाहरु भईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभेदमुक्त समाज आवश्यकता रहेको बताउनुभयो ।
संविधानले हरेक वर्गको हकअधिकार सुनिश्चित गरेपनि व्यवहारमा त्यसको कार्यान्वय फितलो भएको बताउनुभयो । उहाँले वनले वन संरक्षण, सम्बद्र्धनसंगै भौतिक विकास र सामाजिक विकासमा उल्लेखिनीय काम गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका सचिव सुष्मा खाँणको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सुर्यकुमारी शाही, वनका सल्लाहकार विष्णु थापा, सुनिता सेन लगायतका वक्ताहरुले आआफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा मानव अधिकारी, संचार, सुशासन पैरवी तथा लैससास विषय विज्ञ रिमा विसीले सहजीकरण गर्नुभएको थियो ।








