गृहपृष्ठ Featured विश्वमा द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

विश्वमा द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ ।

यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित देशमा अत्यधिक गरिबी र खाद्य सङ्कटको अवस्था अझ गहिरिँदै गएको उल्लेख छ ।

यस वर्ष मात्रै, ४२ करोडभन्दा धेरै मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाउन बाध्य छन् । जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ ।

यस्तै अवस्था रहेमा सन् २०३० सम्म यो सङ्ख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले युक्रेन र मध्यपूर्वको द्वन्द्वमा अहिले विश्व समुदायको ध्यान केन्द्रित भए पनि, अन्य द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका बताउनुभयो ।

अहिले ३९ देशलाई द्वन्द्व प्रभावित देशको सूचीमा राखिएको छ । सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरानलाई भने समावेश गरिएको छैन ।

विश्व बैंकले द्वन्द्वको शुरुआत हुनु अघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुने उल्लेख गरेको एएफपीले जनाएको छ ।

सम्बन्धित् समाचार