वैखरी अनलाईन, बाणगंगा ।
सुरक्षा सुदृढीकरणको उद्देश्यसहित बाणगंगा नगरपालिका वडा नम्बर ४ मा ४२ थान सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
आर्थिक बर्ष २०८१/८२ को बार्षिक निति तथा कार्यक्रम अन्तर्गत वडाले १० लाख रुपैयाँबाट वडाभित्रका मुख्यमुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरेको वडाध्यक्ष छविलाल रेस्मी मगरले जानकारी दिनुभयो ।
उहाँले गजेहडा, सिद्धिपुर, दरखास्त, ठाकुरापुर, झुँगा, कालाबन्जर, हरिहरपुर, बुङ्ची, डुंगहवा लगायतका २२ स्थानमा सिसिटिभि क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।
सिसिटिभी क्यामेराको जडानबाट अपराधिक गतिविधिमा कमी आउने र शान्ति सुरक्षालाई मजबुत पार्ने वडाध्यक्ष छविलाल रेश्मी मगरले बताउनुभयो । ‘वडालाई सुरक्षित र सुव्यवस्थित बनाउने हाम्रो प्रयास स्वरुप यो एक महत्वपूर्ण कदम हो । यसले समाजमा हुने अपराधिक घटनाहरुमा उल्लेख्य कमी ल्याउनेमा हामी विश्वस्त छौं,’ उहाँले भन्नुभयो ।
प्रविधिको प्रयोगबाट निगरानी प्रणालीलाई व्यवस्थित बनाउँदै लानुपर्ने अहिलेको अवश्यकता महसुस गरेर सिसिटिभी क्यामेरा जडान गरिएको वडाध्यक्ष रेस्मीले स्पष्ट पार्नुभयो । उहाँले वडा कार्यालयसंगै वडा प्रहरी विट गजेहडाबाट २४ सै घण्टा निगरानी गर्ने व्यवस्था मिलाएको बताउनुभयो । वडा कार्यालयले आगामी दिनमा थप प्रविधि र सुरक्षामूलक संरचना विकासमा प्राथमिकता दिने उहाँले बताउनुभयो ।
स्थानीय बासिन्दाहरूले यो कदमको स्वागत गर्दै वडाभित्र हुनसक्ने चोरी, हिंसा तथा अन्य आपराधिक गतिविधिमा कमी आउने विश्वास व्यक्त गरेका छन् ।
बाणगंगाको वडा नं.४ ले २ बर्षअघि नै चारनम्बर चोकदेखि गजेहडा चोकसम्म सडकबत्ती जडान गरेर उज्यालो बाणगंगाको अभियानलाई प्रारम्भ गरेको थियो । जसले चौतर्फी चर्चा पाएको थियो ।








