काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असार मसान्तसम्म सम्भावित उम्मेदवारको सूची पठाउन निर्देश गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, निर्वाचनका आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न रुपन्देही जिल्ला कार्यसमितिलाई गर्न निर्देशन पनि गरिएको छ ।
जसका लागि पार्टीका वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ ।
उक्त समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरू र आमन्त्रित सदस्यहरू सदस्य रहेका छन् ।
त्यस्तै, पार्टीका विभिन्न तहको अधिवेशन समयमा हुन नसक्दा विधान अनुसार गर्नुपर्ने महाधिवेशनको अवस्थाबारे पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।
असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय र प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको छ। साथै, आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण अभियान र जिल्ला अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय भएको उनले बताएका छन् ।