गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका बालश्रम मुक्त र सडक मानवमुक्त नगर घोषित

बुद्धभूमि नगरपालिका बालश्रम मुक्त र सडक मानवमुक्त नगर घोषित

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालश्रममुक्त र सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको गरिएको छ । बुधबार नगरपालिकाको सत्रौं नगरसभाको दोस्रो बैठकमा नगरप्रमुख केशवकुमार श्रेष्ठले बुद्धभूमिलाई बालश्रममुक्त र सडक मानवमुक्त नगर घोषणा गर्नुभएको हो ।

उहाँले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ को प्रावधानअनुसार बुद्धभूमि नगरपालिका बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको बताउनुभयो ।

बुद्धभूमिका १० वटै वडाहरु बालश्रम मुक्त वडा घोषणा गरिसकेपछि कार्यविधिको परिच्छेद–७ को दफा २३ र परिच्छेद–३ मा उल्लिखित सूचकहरूको आधारमा नगर कार्यपालिकाको प्रस्तावमा नगरसभाले यो घोषणा गरेको हो ।

नगर प्रमुख श्रेष्ठले बालश्रममुक्त समाज निर्माणतर्फ नगरले लिएको दृढ कदमको रूपमा यो घोषणा गरिएको जानकारी दिनुभयो । बालश्रम निवारणका लागि नगरपालिकाले लामो समयदेखि विभिन्न सचेतना कार्यक्रम, पुनःस्थापना प्रक्रिया र बालमैत्री नीति कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो । यस घोषणासँगै अब बुद्धभूमिमा कुनै पनि बालबालिका श्रममा संलग्न हुने छैनन् भन्ने अपेक्षा गरिएको छ ।

साथै नगरपालिकाले बालश्रममुक्त समाज निर्माणका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

सडक मावनमुक्त नगर घोषणाको कदमले सामाजिक उत्तरदायित्व, बाल अधिकार र समावेशी विकासप्रतिको प्रतिबद्धतालाई स्पष्ट पारेको नगरप्रमुख श्रेष्ठको भनाई छ । नगरले आगामी दिनमा पनि यस्ता मानव कल्याणका अभियानहरूलाई प्राथमिकता दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उपप्रमुख मिरा थारुले सत्रौं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन, २०८२ र बुद्धभूमि नगरपालिकाको नगर दररेट, २०८२ नगरसभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको छ । यस्तै नगरसभाले छाडा पशु चौपया व्यवस्थापन र नियन्त्रण गौशाला संचालन विधेयक, २०८२, बुद्धभूमि नगरपालिकाको नदीजन्य पदार्थ व्यवस्थापन विधेयक सर्वसम्मत पारित गरेको छ ।

नगरप्रमुख श्रेष्ठले बुद्धभूमिवासीलाई सुशासन कायम गर्दै समृद्धितर्फ उन्मुख गराउन जनप्रतिनिधिहरु र कर्मचारीहरु थप उच्चमनोबलका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । अहिले आम जनमानसमा चरम निरासा र नकारात्मकपन रहेको भन्दै यस्तो परिवेशलाई कामबाटै चिर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले नगरभित्र संचालित योजनाहरुमा ठेकेदारको लापरबाहीका कारण समयमै अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले यो प्रवृति अन्त्यका लागि सम्बन्धित वडाका जनप्रतिनिधि र सरोकारवाला थप सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

सोही नगरसभामा पत्रकारिता पुरस्कारबाट पत्रकार विकास बन्जाडे र किरणमान बज्राचार्यलाई नगदसहित सम्मान गरिएको छ ।

सम्बन्धित् समाचार