गृहपृष्ठ Featured विजयनगरका २ सय ८९ कृषकलाई कृषि उपकरण वितरण

विजयनगरका २ सय ८९ कृषकलाई कृषि उपकरण वितरण

घनश्याम भर

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले कृषकलाई कृषि यन्त्र उपकरण वितरण गरेको छ । कृषकलाई बालीको उत्पादन बृद्धि तथा प्रवर्द्धन गरी किसानको आयस्तर बृद्धि गराउन कृषि उपकरण प्रदान गरेको हो । प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगले समयको सदुपयोगसँगै कृषकका गतिविधिलाई चलायमान र सहजताका लागि कृषि उपकरण दिएको छ ।

सोमबार गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा २ सय ८९ जना कृषकलाई कृषि उपकरण वितरण गरेको कृषि विकास शाखाका प्रमुख राम सुन्दर मालीले जानकारी दिए । २ कट्ठा भन्दा बढी क्षेत्रमा व्यावसायिक रुपले मकै र तरकारी खेती गरि रहेका किसानलाई कृषि उपकरण प्रदान गरिएको उनले बताए ।

उनका अनुसार जीटुजी कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई मिनि टिलर, ४ जनालाई झार फाल्ने मेसिन, २६ जनालाई पम्प सेट, १ सय २५ जनालाई पानी तान्ने मोटर र १ सय २५ जना कृषकलाई १३ क्विन्टल ३० किलो डेलिभरी पाइप उपलब्ध गराइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यु।एस।ए।आई।डी। मार्फत जीटुजी कार्यक्रम अन्तर्गत कृषि उपकरण किसानलाई उपलब्ध गराइएको बताए । यसले कृषि उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिएको उनले बताए । अध्यक्ष थापाले कृषि क्षेत्रमा ठुलो योजना बनाएर अगाडी बढिरहेको अवस्थामा अमेरिकी सरकारद्वारा सञ्चालित जीटुजी अनुदानका कार्यक्रम तोडिएपछि ठुलो क्षति पुगेको बताए ।

उनले निरन्तर ५ वर्षसम्म चल्ने यो कार्यक्रमले हरेक किसानको घर(घरमा कृषि उपकरण पुर्‍याउने योजना बनाइएको भए पनि जीटुजी कार्यक्रम नै खारेज भएपछि हाम्रो सपना अधुरो भएको भन्दै चिन्ता व्यक्त गरे । उनले यो कार्यक्रम रोकिए पनि कृषि शाखाले विभिन्न कृषिका कार्यक्रमहरु सञ्चालन गरेको हुँदा उपलब्ध सेवा, सुविधाहरु लिई कृषि कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले यस्ता उपकरणले कृषकलाई आधुनिक प्रणालीमा महत्त्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको बताए । आधुनिक कृषि उपकरणहरूले गर्दा समय, श्रम र लागतमा बचतको साथै उत्पादनमा पनि वृद्धि हुने बताउँदै प्राप्त उपकरणको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँपालिकाले जीटुजी कार्यक्रम अन्तर्गत १ नम्बर वडालाई मकै खेती, २ नम्बर वडालाई तरकारी खेती, ३ नम्बर वडालाई धान खेती, ४ नम्बर वडालाई तरकारी खेती, ५ नम्बर वडालाई मकै खेती, ६ नम्बर वडालाई माछा पालन र ७ नम्बर वडालाई तरकारी खेती पकेट क्षेत्रको रुपका योजनाबद्ध रुपमा अगाडी बढेको थियोे । जीटुजी कार्यक्रम खारेज भएपछि सबै कार्यक्रमहरु रोकिएका छन् ।

सम्बन्धित् समाचार