भारतीय दवावमा युनेस्को र इकोमसको पक्षपाती व्यवहारकै कारण शाक्य वंशको अन्तिम राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजना फेल भएको छ ।
भारतले कपिलवस्तुको तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको कारण युनेस्को र इकोमसको बैठकमा यसलाई अगाडि नबढाउन पटक-पटक दवाव दिएको खुलेको हो ।
युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले पेश गरेको डिफर प्रतिवेदनमा कपिलवस्तुको तिलौराकोट नै प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट हो भन्ने पुष्टिका लागि थप प्रमाण जुटाउन भनिएको थियो ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न नेपालबाट गएको लुम्बिनी विकास कोषको टोलीले युनेस्को, इकोमस र स्वयं भारतीय टोलीलाई पटक–पटक भेटेर ‘कन्भिन्स’ गर्दा पनि टसमस नभएको सहभागी एक सदस्यले बताए ।
युनेस्कोको बैठकमा सहभागी हुन नेपालबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोली फ्रान्स पुगेको थियो ।








