पोखरा ।
पोखरा महानगरपालिका–१६ स्थित १३५ रोपनी लिची बगान प्रकरणमा मुछिएका बिचौलिया सुजन लामालाई नेकपा (एमाले) कास्कीले पार्टी सदस्यबाट हटाएको छ । लामा अझै एमाले गण्डकी प्रदेश कमिटीको सल्लाहकार समिति सदस्य हुन् । उनी एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्ष समेत हुन् ।
जग्गा हडप्ने प्रकरणमा मालपोत कर्मचारीका विषयमा घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपश्चात् राजकुमार गुप्ताले मन्त्री पद गुमाएका थिए । चर्को दबाबपछि उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका थिए ।
यही प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको पनि नाम मुछिएको छ । गुप्ताले राजीनामा दिए पनि अधिकारी मन्त्री पदमा बहाल छन् ।
कास्की एमालेका नेताहरूले अधिकारीलाई समेत पदमुक्त गर्न माग गरेका छन् । शनिबार (साउन ३) पोखरामा आयोजित एमाले जिल्ला र पालिका पदाधिकारी तथा जनवर्गीय संगठनको भेलामा बोल्नै सबै नेताले मन्त्री अधिकारीलाई पदमुक्त गर्न माग गरेका हुन् ।








