अशोक पौडेल, बाणगंगा ।
बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ। नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त बैठकले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका पारित गरेको हो।

नगर प्रवक्ता विष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिँदै बैठकले आर्थिक वर्ष ८२/८३ का लागि निर्माण सामग्रीहरूको नगर दर रेट निर्धारण गर्नुका साथै दक्ष तथा अर्धदक्ष कामदारहरूको दैनिक ज्यालादर समेत पारित गरेको बताए।
बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले यस वर्ष नगरपालिकाले प्राथमिकतामा राखी कार्यान्वयन गर्ने योजना र रणनीति प्रस्तुत गर्दै प्रभावकारी ढंगले बजेट उपयोग गरिने धारणा व्यक्त गरे।

त्यस्तै, उप–प्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नागरिकले सहज रुपमा सेवा पाउने व्यवस्था मिलाउने तथा योजनाको कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कदम चालिने बताएका थिए।
बैठकमा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा विभिन्न शाखाका प्रमुखहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।








