अशोक पौडेल, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा अनियमित विद्युत् आपूर्तिका कारण स्थानीय नागरिकहरू दैनिक सास्ती भोग्न बाध्य भएका छन्। विशेषगरी बाणगंगा नगरपालिका क्षेत्रका बासिन्दा विद्युत् पटक–पटक जाने समस्याबाट हैरान भएका छन्।
बाणगंगा नगरपालिका–४ का स्थानीय रामप्रसाद पौडेलले दैनिक २० देखि २५ पटकसम्म बत्ति आउने–जाने समस्या हुँदा दैनिकीमा निकै असर परेको वैखरी अनलाइनलाई जानकारी दिए। “विद्युत् नहुँदा न त घरायसी काम गर्न सकिन्छ, न त व्यवसाय नै चलाउन सकिन्छ,” पौडेलले गुनासो पोखे।
बिद्युत् हरेक केही समयमै जाने गर्छ, जसका कारण छोरी–छोराले पढ्नै पाउँदैनन्। न मोबाइल चार्ज हुन्छ, न त अनलाइन कक्षा लिन मिल्छ।”
विद्युत् प्राधिकरण तौलीहवाका प्रमुख गौरव पाण्डेले केन्द्रिय प्रणालीमै समस्या आएको स्वीकार गर्दै सिस्टम फेल भएकै कारण यस्तो समस्या उत्पन्न भएको जानकारी दिए। उनले समस्या समाधानका लागि प्रयास भइरहेको बताए पनि कहिलेबाट नियमित आपूर्ति हुने भन्ने यकिन समय भने दिन सकेनन्।
स्थानीयले यथाशीघ्र समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। नियमित विद्युत् सेवा सुनिश्चित नभएसम्म जनजीवन झन् कष्टकर बन्ने स्थानीयको भनाइ छ।








