दाङ ।
लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ। प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन्।
प्रदेश वन निर्देशनालयका अनुसार बाँके र कपिलवस्तुमा २/२ र बर्दियामा ३ जनाको मृत्यु भएको छ। त्यस्तै, १८ जना घाइते भएका छन्। बाँकेमा २, बर्दियामा ७, दाङमा ३, कपिलवस्तुमा ४ र नवलपरासीमा २ जना घाइते भएका हुन्।
वन्यजन्तुको आक्रमणबाट १४४ वटा पशुचौपायाको समेत ज्यान गएको छ। अर्घाखाँचीमा ५१, बर्दियामा ९०, दाङ र कपिलवस्तुमा जनावर मरेका घटना एक–एक रहेका छन्। त्यस्तै, सोही अवधिमा २३ वटा वन्यजन्तु पनि मरेको विवरण सार्वजनिक गरिएको छ।
वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमा मानव–वन्यजन्तु द्वन्द्वलाई चिन्ताजनक भन्दै दीर्घकालीन समाधानको खाँचो औंल्याइएको छ। बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजय राज सुवेदीले वन क्षेत्रहरू एकआपसमा नजोडिएको र मानव बस्ती बिचमा परेकाले द्वन्द्व बढिरहेको बताए। उनले वन्यजन्तुहरूलाई सुरक्षित आवागमन सुनिश्चित गर्न जंगललाई जंगलसँग जोड्नुपर्ने धारणा राखे।
यस्तै, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले वन्यजन्तुको वासस्थान खुम्चिएपछि द्वन्द्व बढेको उल्लेख गरे। उनका अनुसार निकुञ्जभित्र राजमार्ग, नहर, हाइटेन्सन लाइन जस्ता संरचनाले वासस्थानमा असर पारेको छ।
गोष्ठीमा एकीकृत विकास र संरक्षणको नीतिलाई प्राथमिकतामा राख्दै साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझावहरू आएका छन्। प्रदेश वन निर्देशनालयका निमित्त महानिर्देशक प्रभात सापकोटाका अनुसार वन व्यवस्थापनमार्फत गत वर्ष एक अर्ब ८७ करोड ३१ लाख रुपैयाँ राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ।








