गृहपृष्ठ Featured लुम्बिनीका तराई जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित, रोपेको धान खेतमै सुक्न थाल्यो

लुम्बिनीका तराई जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित, रोपेको धान खेतमै सुक्न थाल्यो

अशोक पौडेल, कपिलवस्तु । 
लुम्बिनी प्रदेशका तराईका जिल्लामा पछिल्लो एक साता देखि वर्षा नहुँदा अत्यधिक गर्मी बढ्दो क्रममा छ । लगातारको गर्मी र खडेरीले जनजीवन कष्टकर बन्दै गएको छ भने कृषिका साथै शिक्षा र व्यापार व्यवसायमा समेत नकारात्मक असर पर्न थालेको छ ।

गर्मीका कारण विद्यार्थीहरू नियमित कक्षामा उपस्थित हुन नसकेको अभिभावकले बताएका छन् । शैक्षिक संस्थाहरूमा अध्ययन–अध्यापन प्रभावित भएको छ भने अत्यधिक गर्मीले बजारमा ग्राहकको चहलपहल घट्दा व्यवसायीहरू पनि चिन्तित छन् ।

खडेरीको सबैभन्दा ठूलो असर भने कृषिमा देखिएको छ । समयमै रोपाइँ गरिसकेका किसानहरू अहिले खेतमै धान सुक्न थालेपछि चिन्तामा छन् । बाणगंगा नगरपालिका–५ का किसान चिन्कु थारुले खेतमा रोपेको धान सुकेर उत्पादनमा ठूलो गिरावट आउने सम्भावना रहेको बताए । “खेतमा पानी छैन, रोपेको धान पहेँलो भएर सुक्दै गएको छ,” उनले भने ।

कतिपय स्थानमा त किसानहरूले अहिलेसम्म रोपाइँ गर्नै पाएका छैनन् । रोपाइँका लागि तयार गरिएको ब्याडमा पनि पर्याप्त पानी नपाउँदा सुक्न थालेको छ । जलस्रोतको अभावले सिँचाइ गर्न नसकिएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञहरूका अनुसार यथाशीघ्र वर्षा नहुञ्जेल यो अवस्था झन जटिल बन्ने छ र यस वर्ष धान उत्पादनमा ठुलो गिरावट आउने सम्भावना प्रवल छ । प्रदेश सरकारले कृषकको समस्या पहिचान गरी राहत र सिँचाइको वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने आवाज चुलिएको छ ।

सम्बन्धित् समाचार