भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये रु १० करोडभन्दा बढी फिर्ता भएको छ ।
भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले रु २५ करोड निकासा गरेकामा रु १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० मात्रै खर्च भएको छ । बाँकी रु सात करोड ३४ लाख ३० हजार एक सय ७० फिर्ता भएको हो ।
यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको रु १० करोडमध्ये रु छ करोड ८० लाख मात्रै खर्च भएको छ । यसमा रु तीन करोड २० फिर्ता भएको हो । रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो ।
महानगरले रंगशाला लागि रु पाँच करोड विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए ।








